सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले पाँचौँ भूकम्प स्मृति दिवसका सन्दर्भमा दिनुभएको सन्देश

पाँचौँ  भूकम्प स्मृति  दिवसको सन्देश

२०७२ साल वैशाख १२ गते गोरखा जिल्लाको बारपाक केन्द्रविन्दु भई गएको विनाशकारी भूकम्प र त्यसपछिका पराकम्पहरूमा परी जीवन गुमाउनु भएकाहरूको स्मरण गर्दै उहाँहरूप्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । साथै घाइते तथा अङ्गभङ्ग भई हालसम्म पनि समस्यामा रहनुभएकाहरूको सहज जीवनको कामना गर्दछु ।

भूकम्पबाट प्रभावितहरूको उद्धार, राहत र पुनःस्थापनाका साथै ध्वस्त संरचनाहरूको पुनर्निर्माणमा हामीले उदाहरणीय काम गर्न सकेका छौँ । भूकम्पको निरन्तर धक्काहरूको कारण त्रास र भयमा रहनु भएका र घरबारविहीन हुनुभएका लाखौँ जनतालाई त्राण दिन हामी एकजुट भएका थियौं । सङ्कटका बेला एकजुट हुने हाम्रो असल परम्परालाई हामीले कायम राख्नु पर्दछ । प्राकृतिक विपद्ले ल्याएको सङ्कटका बेला दिनरात नभनी र दुःखकष्टको प्रवाह नगरी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

नेपाल सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण स्थापना गरी भूकम्पबाट ध्वस्त भएका भौतिक संरचनाहरूको पुनर्निर्माण तथा प्रभावितहरूको पुनःस्थापनाका कार्यहरूलाई अघि बढाएको छ । यस बीच करिव पाँचलाख निजी आवास पुनर्निर्माण सम्पन्न हुनाका साथै करिब दुईलाख निजी आवास पुनर्निर्माणको प्रक्रियामा रहेका छन् । यसैगरी भूकम्पबाट क्षतिग्रस्त भएका शैक्षिक संस्था, स्वास्थ्य संस्था, विश्व सम्पदामा सूचिकृत सम्पदा लगायत अन्य साँस्कृतिक धरोहर, पुल, सडक, खानेपानी, सरकारी भवन, सुरक्षा निकायका भवनहरूको पुनर्निर्माणमा पनि उल्लेखनीय उपलब्धी हासिल भएका छन् । यसै सन्दर्भमा पुनर्निर्माण र पुनःस्थापनाका कार्यहरूमा लाग्नुहुने र सहयोग पुर्‍याउनु हुने सबैलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

हाम्रो देशको भौगोलिक अवस्थाले गर्दा हामी भूकम्प, बाढी, डुबान, पहिरो जस्ता प्राकृतिक प्रकोपको उच्च जोखिममा छौँ । यस संवेदनशील अवस्थालाई मध्यनजर गर्दै पर्यावरणमैत्री एवं सुरक्षित भौतिक पूर्वाधार तथा प्रकोप प्रतिरोधी वस्ती निर्माण गरी जोखिम न्यूनीकरण गर्न ध्यान पुर्‍याउनु पर्ने आवश्यकता रहेको छ । सबै संरचनाहरूको अध्ययन गरी कमजोर संरचनालाई प्रवलीकरण गर्दै भवन संहिता अनुसार नयाँ संरचना बनाउने कार्यलाई अभियानका रूपमा अघि बढाउन आवश्यक छ । यसका लागि म सम्बन्धित निकायहरूको ध्यान आकृष्ट गराउन चाहन्छु ।

सम्भावित विपद्का बारेमा सामुदायिक सचेतनाका साथै पूर्व तयारी र चुस्त व्यवस्थापन भए मात्रै विपद्लाई राम्रोसँग सामना गर्न र प्रभावकारी प्रतिकार्य गर्न सकिन्छ । भूकम्प पछिको राहत, उद्धार, पुनर्निर्माण तथा पुनःस्थापनाका सिकाईले सुरक्षित नेपालको अभियानलाई अघि बढाउन  र भविष्यमा विपद्‍बाट हुन सक्ने क्षतिलाई न्यूनीकरण गर्न थप सहयोग पुर्‍याउने छ भन्ने विश्वास लिएको छु ।

धन्यवाद ।

मितिः २०७७ साल वैशाख १२ गते शुक्रबार ।