सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “छठ पर्व, २०७६” को अवसरमा दिनुभएको शुभकामना सन्देश

 छठ पर्व, २०७६ को शुभकामना सन्देश

छठ पर्व, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि, आपसी सद्‌भाव, एकताका साथै उत्तरोत्तर प्रगतिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

छठ पर्वमा सूर्य देवता र छठी माताको पूजा आराधना गरी हर्षोल्लासपूर्वक मनाइने प्रचलन रहिआएको छ । यस पर्वले सबै नेपालीमा राष्ट्रिय एकता अभिवृद्धि गर्न, मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्न र आपसी सद्‍भाव थप सुदृढ पार्न प्रेरणा प्रदान गर्नेछ भन्‍ने मैले विश्वास लिएको छु ।

यस पर्वले पारिवारिक जमघट गराउँदै आपसी तिक्तता मेटाएर सुमधुर सम्बन्ध कायम गर्ने अवसर जुटाई बलियो पारिवारिक र सामाजिक एकता प्रवर्द्धनमा समेत महत्वपूर्ण योगदान पुग्न सकोस् भन्‍ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७६ साल कार्तिक १६ गते, शनिबार ।