सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले “तिहार पर्व, २०७६” को अवसरमा दिनुभएको शुभकामना सन्देश

 तिहार पर्व, २०७६ को शुभकामना सन्देश

तिहार पर्व, २०७६ को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यमपञ्चकको पाँच दिनसम्म मनार्इने यस पर्वमा पशुपंक्षी र वनस्पतिलाई सम्मान स्वरूप प्रत्येक नेपालीको घरघरमा काग, कुकुर, गाई, गोवर्द्धन र लक्ष्मीको पूजा गरी साँझमा दीपावली गर्ने र अन्तिम दिन भाइटीका लगाउने परम्परा रहिआएको छ। तिहारको अन्तिम दिन मनाईने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीका बीचको आपसी स्नेह र प्रेमलाई थप प्रगाढ बनाउन मद्दत गरिरहेको छ ।

यस पर्वको अभिन्न अंगको रूपमा रहेको देउसी-भैलो खेल्ने साँस्कृतिक परम्पराले आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्‌भाव र सहिष्णुता अझ सुदृढ बन्‍ने र समाजमा शान्ति एवं स्थायित्वका साथ मुलुकमा आर्थिक समृद्धि हासिल हुने विश्वासका साथ तिहार पर्वको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७६ साल कार्तिक ९ गते, शनिबार ।