सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट “संविधान दिवस तथा राष्ट्रिय दिवस,२०७६” को अवसरमा व्यक्त शुभकामना सन्देश

 संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ को शुभकामना सन्देश

नेपालको इतिहासमा पहिलो पटक संविधानसभाबाट विक्रम सम्बत् २०७२ साल असोज ३ गते संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान निर्माण र जारी भएको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप आज संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्‍भाव कायम हुन सकोस्, भनी हार्दिक शुभकामना व्यक्त गर्दछु।

नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई आत्मसात गर्दै मानवअधिकार प्रेस स्वतन्त्रता र समावेशी लोकतन्त्रलाई प्रत्याभूत गरेको छ । तीन तहका सरकारहरू संचालनमा आएसँगै त्यस अनुरुप संरचनाहरु संस्थागत र सुदृढ हुँदै गएका छन् । संविधानले गरेको सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना बमोजिम समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा मुलुक अगाडि बढिरहेको छ ।

आजको यस दिनले हामी सबैमा “समृद्ध नेपाल, सुखी नेपाली̋” को राष्ट्रिय संकल्प हासिल गर्न मन, बचन र कर्मले समर्पित हुन थप प्रेरणा प्राप्त हुनेछ भन्‍ने मैले विश्‍वास लिएको छु । यस अवसरमा संविधानको मर्म र भावनालार्इ व्यवहारमा रुपान्तरण गर्न आफ्नोतर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्‍न म सबैमा हार्दिक आव्हान गर्न चाहन्छु।

अन्तमा, लामो संघर्ष, ठूलो बलिदान र प्रतिक्षाबाट प्राप्त यस संविधानको कार्यान्वयन मार्फत नागरिकको हित र मुलुकको समद्धि हुने गरी कार्य गर्न सकौँ भनी संविधान दिवस तथा राष्ट्रिय दिवस, २०७६ को सुखद् अवसरमा हार्दिक शुभकामना व्यक्त  गर्दछु ।

धन्यवाद !

२०७६ साल असोज ३ गते शुक्रबार ।