सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट आम मतदाताहरुलाई दिनुभएको सन्देश

नेपाली जनताको लामो संघर्षको फलस्वरुप नेपालको संविधानसभाद्वारा निर्मित संविधान जारी भए पश्चात् हुन लागेको स्थानीय तहको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ दिदीबहिनीहरुलाई निर्वाचन शान्तिपूर्ण ढंगले सफल बनाउन म आह्वान गर्दछु ।

देश संघीय संरचनामा गएको परिप्रेक्ष्यमा नेपालको संविधानले २०७४ माघ ७ गते भित्र उक्त संरचना अन्तरगत सबै निर्वाचन सम्पन्न हुनुपर्ने व्यवस्था गरेको छ । निर्वाचनको श्रृङ्‍खला को रुपमा व्यापक जनसहभागितासहित मिति २०७४ वैशाख ३१ गते पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको सर्वविदितै छ ।स्थानिय तहको दोस्रो चरणको निर्वाचनको पनि उत्तिकै महत्व रहेको छ । साथै, यस निर्वाचनले स्थानीय तहलाई अधिकार र दायित्वले सम्पन्न तुल्याई सामाजिक र आर्थिक समृद्धिको ढोका खोल्ने छ भन्ने मलाइ विश्वास छ ।

मिति २०७४ अषाढ १४ गते हुन गइरहेको यो स्थानीय तहको निर्वाचनमा उत्साह र उमङ्गकासाथ सहभागीभई संविधान प्रदत्त वालिग मताधिकारको प्रयोग गर्न आम मतदाताहरुलाई म अनुरोध गर्दछु ।

 

धन्यवाद !

२०७४ साल अषाढ १४ गते बुधबार ।