सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट व्यक्त गर्नुभएको नव वर्ष २०७६ सालको शुभकामना सन्देश

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट व्यक्त गर्नुभएको “नव वर्ष २०७६ सालको शुभकामना सन्देश

नव वर्ष २०७६ सालको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

वि.सं. २०७५ साल संघीय शासन प्रणाली अनुरूपको कानून निर्माण एवम् संस्थागत सुदृढिकरण गर्दै सुशासन र समृद्धिको मार्गमा उन्मुख रहन सफल भयो । हाम्रो मुलुकको राष्ट्रिय संकल्प “समृद्ध नेपाल सुखी नेपाली” को साझा लक्ष्य प्राप्त गर्न वि.सं. २०७६ साल महत्वका साथ अगाडि बढ्नेछ । ठूलो संघर्षबाट मुलुकले प्राप्त गरेको ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धि मार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा थप उर्जा प्रदान गरोस् ।

प्राकृतिक एवम् साँस्कृतिक वैभवयुक्त हाम्रो मुलुक स्वाधिन र स्वाभिमान राष्ट्रको रुपमा विश्वमानचित्रमा अंकित छ । नयाँ वर्षको अवसरमा सबै नेपाली दिदीबहिनी, दाजुभाइहरुमा उच्च मनोवलका साथ अगाडि बढ्न आव्हान गर्दछु । मलाई विश्वास छ, नेपाल र नेपालीको यो दृढ संकल्प साकार तुल्याउने अभियानमा हामीलाई माया गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय जगतको साथ र सहयोग हामीले पाउने नै छौँ ।

अन्तमा, नयाँ वर्ष २०७६ मुलुकमा समृद्धि र दीगो शान्तिका साथ महत्वपूर्ण उपलब्धि हासिल गरेको वर्ष बन्न सकोस् भन्दै सबैमा हर्सोल्लासको कामनासहित हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

मिति २०७६ साल बैशाख १, आइतबार ।