सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८० को अवसरमा दिनुभएको शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, २०८० को शुभकामना सन्देश

जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय  दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सरकारले २०६३ सालमा मुलुकलाई ‘जातीय छुवाछुत मुक्त राष्ट्र’ घोषणा गरेको दिनको स्मरण गर्दै हरेक वर्ष जेठ २१ गते ‘जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस’का रूपमा मनाउन थालिएको हो । यसले सबै जातजाति र समुदायबीच आपसी एकता, मेलमिलाप र सहयोगको भावना वृद्धि गरी राष्ट्रिय एकतालाई थप बलियो बनाउने छ । साथै,  आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक तथा जातीय आधारमा हुने सबै प्रकारका  उत्पीडनको क्रमशः अन्त्य हुँदै जाने आधारहरू निर्माण गर्ने विश्वास लिएको छु ।

नेपालको संविधानले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरेको छ । साथै, वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका छुवाछुतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण  गर्ने संकल्प गरेको छ ।  संविधानको यस मर्मलाई आत्मसात् गर्दै जातीय विभेद र छुवाछुतलाई दण्डनीय अपराधको रूपमा व्याख्या गरी सजायको कानुनी व्यवस्थासमेत गरिएको छ । तथापि, समाजमा विद्यमान विभेदकारी पुरातन सोच, आर्थिक विषमता एवं न्यून चेतनाका कारणले गर्दा जातीय भेदभाव तथा छुवाछुत प्रथा अझै पनि अन्त्य हुन सकिरहेको छैन ।

जातीय विभेद तथा छुवाछुत प्रथा मानव सभ्यताको कलङ्क हो । यो सामाजिक, नैतिक तथा मानवीय गरिमा विरूद्धको अपराध हो । हाम्रो समाजबाट यस प्रथाको समूल अन्त्य गर्न कानुनको प्रभावकारी कार्यान्वयन गर्दै सामाजिक चेतना र जागरण अभिवृद्धिका लागि निरन्तर क्रियाशील रहन म स्थानीय तह‚ प्रदेश तथा संघीय सरकार‚ सुरक्षा निकायका साथै राजनीतिक दल, नागरिक समाज‚ सामाजिक संघ संस्था र सञ्चारकर्मीहरूमा  हार्दिक आव्हान गर्दछु ।

अन्तमा, जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवसबाट सामाजिक तथा परम्परागत सोच, शैली, प्रथा एवं प्रचलनमा सकारात्मक परिवर्तनद्वारा आपसी एकता, मेलमिलाप तथा सद्भावको अभिवृद्धि भई सुसंस्कृत र छुवाछुतरहित समतामूलक समृद्ध राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल ।

२०८० जेठ २१ गते आइतबार ।