सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलज्यूले विश्व मजदुर दिवस (मे १) २०२३ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्व मजदुर दिवस (मे १) २०२३ को शुभकामना सन्देश

विश्व मजदुर दिवस (मे १) २०२३ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दै श्रम अधिकार सुनिश्चितताको कामना गर्दछु ।

श्रमिकहरूको पेशागत मर्यादा र सम्मानको प्रत्याभूति गराउन र उनीहरूको हक, अधिकार स्थापित भएको दिनको रूपमा प्रत्येक वर्ष मे १ तारिखमा यो दिवस मनाउने गरिन्छ । यस दिवसले आफ्नो हक, हित, अधिकार तथा स्वतन्त्रताको रक्षार्थ विश्वभरिका सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास मैले लिएको छु ।

नेपालको संविधानले सम्पूर्ण नागरिकहरूका लागि रोजगारीको हक कायम गर्दै प्रत्येक श्रमिकका लागि उचित पारिश्रमिक, सुविधा तथा योगदानमा आधारित सामाजिक सुरक्षाको हकलाई समेत सुनिश्चित गरेको छ । मुलकमा लोकतन्त्रात्मक, समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न संवैधानिक प्रावधानले मूर्तरूप लिदै जाने सन्दर्भमा श्रमिक वर्ग पनि लाभान्वित हुने विश्वास मैले लिएको छु ।

मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत् स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पूँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुने भएकोले मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नुपर्दछ भन्ने लाग्दछ ।

अन्तमा, विश्व मजदुर दिवसले श्रमको सम्मान, स्वरोजगार, उचित पारिश्रमिक एवम् समाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गर्ने तर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०८० वैशाख १८ गते सोमबार ।