सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ग्याल्पो ल्होसार २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

 ग्याल्पो ल्होसार, २०७९ को शुभकामना सन्देश

शेर्पा समुदायको महान् पर्व ग्याल्पो ल्होसारका अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवम् समृद्धिको लागि हार्दिक  शुभकामना व्यक्त गर्दछु ।

नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा लगायत महायान बौद्ध धर्मावलम्बी समुदायद्वारा फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन नयाँ वर्षको रूपमा ग्याल्पो ल्होसार मनाइन्छ । यस पर्वको अवसरमा शेर्पा  समुदायले आफ्नो घरआँगन, बाटोघाटो तथा पानीका स्रोतहरूको सरसफाई गर्ने, घरको छत लगायत गुम्बा र चैत्यहरूमा नयाँ ध्वजाहरू राख्ने, गुथुक र खाप्से जस्ता परिकार खाने अनि आपसमा शुभकामना आदानप्रदान गर्दै नयाँ वर्षको स्वागत गर्ने  परम्परा रहेको छ ।

नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त राष्ट्र हो । ग्याल्पो ल्होसार जस्ता पर्वहरूबाट सबै नेपाली बीच आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुने र यसबाट राष्ट्रिय एकतालाई थप सुदृढ गर्न सघाउ पुग्ने मैले विश्‍वास लिएको छु ।

अन्तमा, ग्याल्पो ल्होसार पर्वले हामी सबैलाई एकताबद्ध भएर आर्थिक, सामाजिक र सांस्कृतिक रूपले समुन्नत मुलुक निर्माणका लागि अघि बढ्न सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७९ फागुन ९  गते मंगलबार ।