सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बाला गुरु षडानन्द अधिकारीको प्रतिमा अनावरण कार्यक्रममा गर्नुभएको सम्बोधन

प्रदेश १ का माननीय मुख्यमन्त्री,

षडानन्द नगरपालिका प्रमुख, उप प्रमुख तथा जनप्रतिनिधिहरू,

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू‚

भद्र महिला तथा सज्जनवृन्द ।

नेपालका प्रसिद्ध समाजसेवी तथा शिक्षाप्रेमी बालागुरु षडानन्द अधिकारीको जन्मस्थानमा आयोजित यस कार्यक्रममा सहभागी हुन पाउँदा म ज्यादै हर्षित भएको छु । आबाल ब्रम्हाचारी बालागुरुको जन्मस्थानमा स्थापित प्रतिमाको अनावरण गर्ने सुअवसर समेत प्रदान गरेकोमा म षडानन्द स्मृति प्रतिष्ठानलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

नेपालमा शैक्षिक जागरण फैलाउने उद्देश्यले भोजपुर जिल्लाको दिङ्लामा बालागुरु षडानन्दले स्थापना गर्नुभएको संस्कृत पाठशाला जनस्तरबाट स्थापित पहिलो विद्यालयको रूपमा लिइन्छ । यस विद्यालयको स्थापनासँगै मुलुकमा शिक्षाको विकास तथा विस्तार अभियानले तीब्रता लिएको थियो । शैक्षिक उन्नयनमा ऐतिहासिक योगदान गर्ने बालागुरु षडानन्दको योगदानलाई चीरस्थायी तुल्याउन उहाँको नाममा विभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गरिनु तथा भौतिक संरचना निर्माण गरिनु सराहनीय रहेको छ ।

बालागुरुले शिक्षाको विकास तथा विस्तार गर्न मात्र ध्यान दिएको देखिंदैन‚ यसका अतिरिक्त सामाजिक सुधारका क्षेत्रमा उल्लेखनीय काम गरी समाज सेवामा अरुलाई समेत प्रेरणा प्रदान गर्न सफल रहेको
पाइन्छ । विद्यालय, मन्दिर परिसर एवं सार्वजनिक स्थलहरूमा बिरुवा रोप्ने‚ बगैंचा बनाउने र वन जङ्गल विकास गरेर वातावरण संरक्षणको क्षेत्रमा समेत बालागुरुले महत्वपूर्ण योगदान गर्नुभएको देखिन्छ । चौतारा‚ धारा‚ पोखरी र बाटो निर्माण गरेर समाजलाई उहाँले बिर्सन नसकिने गुन लगाउनुभएको
छ ।

यसैगरी, सामाजिक तथा सांस्कृतिक गतिविधिहरू सञ्चालन गर्न खुल्ला क्षेत्र तथा गौचरणको व्यवस्था मिलाउन समेत उहाँको ध्यान पुगेको देखिन्छ ।

नेपालको दुर्गम जिल्ला भनेर चिनिएको भोजपुरको यही दिङ्लामा जन्मिनु भएका बालागुरु षडानन्दले शिक्षा र समाज सुधारको क्षेत्रमा पुर्‍याउनु भएको योगदानबाट भोजपुरबासी र समग्रमा नेपालीहरूले गौरव गर्नु पर्दछ । संस्कृत वाङमय‚ योग साधना र आयुर्वेदका विद्वान षडानन्दले ऐतिहासिक कालखण्डमा पुर्‍याएको योगदानबाट प्रेरणा लिँदै वर्तमान पुस्ताले आजको  परिवेशअनुरुप शैक्षिक तथा सामाजिक क्षेत्रको विकासमा ठोस योगदान गर्न सके उहाँप्रति सच्चा सम्मान हुनेछ ।

बालागुरु षडानन्दको जन्मस्थल र कर्मस्थलको रूपमा रहेको यस दिङ्ला क्षेत्र पूर्वी नेपालकै एक महत्वपूर्ण शैक्षिक केन्द्रको रूपमा रहेको छ ।  यहाँ अवस्थित षडानन्द माध्यमिक विद्यालय‚ अरूण माध्यमिक विद्यालय‚ षडानन्द गुरुकुल वेद विद्याश्रम लगायत यस दिङ्ला क्षेत्रमा अवस्थित विद्यालयहरूले राष्ट्रलाई चाहिने दक्ष एवं इमान्दार जनशक्ति उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

मानव संसाधनको विकासमा अग्रणी भूमिका खेल्ने भएकाले शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारका रूपमा लिइने गरिएको छ । तसर्थ‚ राष्ट्रको समग्र विकासका लागि आवश्यक स्रोत र साधनहरूको पहिचान गर्दै तिनको उपयोग गर्न आवश्यक पर्ने ज्ञान‚ सीप र व्यवस्थापकीय क्षमताको विकास गर्नु नै हाम्रो शिक्षाको मूलभूत उद्देश्य हुनुपर्दछ ।

बालबालिकाको ठूलो हिस्सालाई शिक्षा प्रदान गर्दै आएका सामुदायिक विद्यालयहरूको भौतिक एवम् शैक्षिक पूर्वाधार विकासका निम्ति संघीय तथा प्रदेश सरकार र स्थानीय तहले यथेष्ट ध्यान दिन आवश्यक छ । साथै‚ गुणस्तरीय शिक्षाको खोजीमा विदेशिने युवा शक्तिलाई देशभित्रै प्राविधिक एवं व्यवसायिक शिक्षा प्रदान गरी जनशक्ति र पूँजीलाई राष्ट्रको सेवामा लगाउन सक्नु पर्दछ ।

यस जिल्लामा उपलब्ध प्राकृतिक स्रोत र साधनको दिगो उपयोग एवं परम्परागत कृषि प्रणालीलाई व्यवसायीकरण गर्दै कृषि र वन आधारित उद्योगको विकास मार्फत स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्रको निर्माण गर्न सकिन्छ ।

भोजपुर जिल्लाका विभिन्न ऐतिहासिक‚ प्राकृतिक, धार्मिक, सांस्कृतिक एवं पर्यटकीय गन्तव्यहरूको पूर्वाधार विकासमा हाम्रो ध्यान केन्द्रित हुनु पर्दछ । यस क्षेत्रका किसानहरूले उत्पादन गर्ने अलैँची, अदुवा, रुद्राक्ष लगायतका नगदेबाली तथा फलफूलजन्य उत्पादनहरूको मूल्य अभिवृद्धिका लागि आवश्यक चिस्यान केन्द्र तथा प्रशोधन केन्द्रहरूको स्थापनाका साथै उचित बजार व्यवस्थापनको लागि सम्बद्ध निकायहरूले ध्यान पुर्‍याउनु पर्दछ ।

भोजपुरबासीहरूको सुख र समृद्धिका लागि यस जिल्लाको उत्तरी क्षेत्रलाई सडक सञ्जालबाट जोड्न अरुण नदीको सतिघाट एवं दक्षिणी क्षेत्रलाई जोड्न दुधकोशी नदीको चुहारबेँसी र रानीटारमा निर्माणाधीन पुलको निर्माण यथाशीघ्र सम्पन्न गर्न म सम्बद्ध पक्षको ध्यान आकृष्ट गर्न चाहन्छु ।

भोजपुर र संखुवासभा जिल्लाको सीमा नदीको रूपमा रहेको अरुण नदीलाई आधार बनाएर गरिने विकास निर्माणको लाभ भोजपुरबासीहरूले समेत प्राप्त गर्नु पर्दछ भन्ने आम भोजपुरबासीको माग रहेको विषयलाई सम्बद्ध पक्षले ध्यान पुर्‍याउनु पर्दछ भन्ने कुरा मैले भन्दै आएको छु । यसलाई यहाँ म पुन: दोहोर्‍याउँन चाहन्छु ।

यस अवसरमा, तपाईंहरूले भोजपुरको उन्नति र प्रगतिका निम्ति गर्ने हरेक प्रयासमा मेरो सदैव साथ र सहयोग रहने विश्वास समेत दिलाउन चाहन्छु ।

अन्तमा, बालागुरू षडानन्द अधिकारी जस्ता ऐतिहासिक व्यक्तित्वले जन्म लिएको  स्थान दिङ्ला क्षेत्रमा तपाईंहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । कार्यक्रमको आयोजनाका लागि षडानन्द स्मृति प्रतिष्ठानलाई फेरी एकपटक धन्यवाद दिंदै तपाईंहरू सबैको सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

२०७९ माघ २५ गते बुधबार ।

दिङ्ला‚ भोजपुर ।