सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले रारा राष्ट्रिय म्युजिक अवार्ड–२०७९ तथा रारा स्रष्टा सम्मान कार्यक्रममा गर्नुभएको सम्बोधन

वरिष्ठ कलाकार तथा संगीतकारहरू,

आज सम्मानित सम्पूर्ण स्रष्टाहरू,

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू,

भद्रमहिला तथा सज्जनवृन्द,

हाम्रो देशको कला, साहित्य तथा संगीतको उन्नययनका लागि क्रियाशील कर्णाली कलाकार समाज र कनका सुन्दरी फिल्मस्द्वारा आयोजित आजको यस कार्यक्रममा वरिष्ठ कलाकार, स्रष्टा, कला तथा साहित्य अनुरागीहरूसँग साक्षात्कार गर्न पाउँदा मलाई खुसी लागेको छ । मलाई विश्वास छ, आजको यस कार्यक्रमले हाम्रो मौलिक कला, संगीत र संस्कृतिको संरक्षण तथा सम्वद्र्धनका लागि कलाकार तथा स्रष्टाहरूलाई उत्साह प्रदान गर्दै कर्तव्यपथमा अग्रसर हुन थप प्रेरणा प्रदान गर्नेछ ।

विविध संस्कृतिले सप्तरङ्गी फूलजस्तै सजिएको नेपाल साँस्कृतिक सम्पदाले सुसम्पन्न मुलुकको रूपमा विश्वभर परिचित छ । यहाँका विविध संस्कृतिभित्र मौलिक लोक परम्परा, कला तथा साहित्य विद्यमान छन् । हरेक मुलुकको संस्कृतिलाई त्यहाँको कला, सामाजिक संस्कार र परम्पराले प्रत्यक्ष प्रभाव पार्ने हुनाले यसलाई समाजको दर्पण मानिएको छ ।

हाम्रा मौलिक गीत, संगीत र बाजाहरू अतुलनीय छन्, जसले हामीलाई उन्नत राष्ट्रिय एकताको भावनामा आबद्ध गरेका छन् । त्यसै हुनाले नेपाली समाज र संस्कृतिका निम्ति ‘सयथरी बाजा एउटै ताल’ भन्ने भनाई सार्थक हुन गएको छ भन्ने मलाई लाग्दछ ।

कर्णाली कलाकार समाजको अग्रसरतामा आयोजित यस कार्यक्रममा मुलुकभरिकै कलाकारहरूको उपस्थिति र सहभागिता हुनु खुसीको विषय हो । कर्णाली क्षेत्रले समग्र नेपालको कला र संस्कृतिको विकासमा पुर्‍याएको योगदानलाई आजको यस कार्यक्रमले उजागर गरेको छ भन्ने मलाई लागेको छ ।

कर्णालीको सिंजा उपत्यकालाई नेपाली भाषाको उद्गम स्थल मानिएको छ । संस्कृतिविद् सत्यमोहन जोशी समेतको संलग्नतामा कर्णाली क्षेत्रको समाज, जनजीवन र संस्कृति समेतको अध्ययनमा आधारित कर्णाली लोक संस्कृति प्रकाशमा आएपछि यस क्षेत्रको विशिष्टताका बारेमा हामी सबैले थप परिचित हुने मौका पाएका हौँ । अध्ययन, अनुसन्धान र संरक्षणका माध्यमबाट कला र संस्कृतिको जगेर्ना गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नु हामी सबैको दायित्व हो ।

आधुनिक भौतिक पूर्वाधार विकासमा दृष्टिले कर्णाली क्षेत्र केही पछाडि परेको भए तापनि सभ्यता र संस्कृतिमा कर्णाली समृद्ध रहेको छ । गुणस्तरीय शिक्षा मार्फत दक्ष जनशक्ति उत्पादन गरी प्राकृतिक स्रोत र साधनहरूको सदुपयोग गर्नसके सामाजिक आर्थिक दृष्टिले समेत यस क्षेत्रलाई माथि उठाउन सकिन्छ । प्राकृतिक सुन्दरता र विविधतायुक्त संस्कृतिमा आधारित पर्यटन प्रवद्र्धनको ठोस योजना तथा कार्यक्रम अगाडि सारेर त्यसको कार्यान्वयन गर्नसके आर्थिक विकासमा फड्को मार्न सकिन्छ भन्ने मलाई लागेको छ ।

कला र संस्कृतिको माध्यमबाट तपाईंहरूले कर्णालीको उत्थानका लागि गर्नुभएको योगदानको म सराहना गर्दछु । कला, साहित्य, संगीत र संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्ने उद्देश्यले स्रष्टा सम्मान कार्यक्रम आयोजना गरिएकोमा खुसी लागेको छ ।

यस क्षेत्रमा निरन्तर प्रयास सहित लामो समयदेखि गीत तथा संगीत, कला, साहित्य तथा चलचित्र क्षेत्रसँगै सम्पूर्ण कलाकारिता क्षेत्रको वृहत्तर विकासमा क्रियाशील रहनुभएका वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, अभिनेता राजेश हमाल, अभिनेत्री रेखा थापा, प्रसिद्ध देउडा गायक नन्दकृष्ण जोशीसहित समाजसेवी सबैलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ । विभिन्न विधामा उत्कृष्ट मनोनयनमा पर्ने र सम्मानित हुने सम्पूर्ण स्रष्टा तथा कलाकारहरूलाई हार्दिक बधाई दिन चाहन्छु ।

अन्तमा, आज सम्मानित तथा पुरस्कृत सम्पूर्ण स्रष्टाहरूलाई पुनः बधाई दिँदै सबैको सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

पौष २६, २०७९ ।

राष्ट्रिय सभागृह, काठमाडौँ ।