सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीले १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७९ को समुद्घाटन समारोहमा गर्नुभएको सम्बोधन

माननीय गृहमन्त्री,

राष्ट्रियसभाका माननीय सदस्यहरू,

प्रदेशसभाका सदस्यहरू,

स्थानीय तहका जनप्रतिनिधिहरू,

उद्योग तथा वाणिज्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरू,

राष्ट्रसेवकहरू,

सञ्चारकर्मीहरू,

भद्रमहिला तथा सज्जनवृन्द !

रुपन्देही उद्योग संघ र लुम्बिनी प्रदेश उद्योग परिसंघद्वारा संयुक्त रूपमा आयोजना गरिएको यस ‘१५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी एवम् कृषि, प्रविधि तथा पर्यटन महोत्सव – २०७९’ को समुद्‍घाटन समारोहमा सहभागी हुने अवसर पाएकोमा मलाई खुसी लागेको छ । नेपालकै अग्रणी औद्योगिक केन्द्रका रूपमा योगदान गरिरहेको बुटवल-भैरहवा क्षेत्रले नवीन प्रविधिको उपयोग, कृषि तथा  पर्यटन समेतलाई केन्द्रमा राखेर भव्य औद्योगिक प्रदर्शनी आयोजना गरेकोमा म तपाईंहरूलाई विशेष धन्यवाद र बधाई दिन चाहन्छु ।

नेपाली उत्पादनको प्रवर्द्धन, उद्योगीलाई उत्साह र उपभोक्तालाई चेतना जगाउने उद्देश्यका साथ रुपन्देही उद्योग संघले हरेक वर्ष राष्ट्रिय औद्योगिक प्रदर्शनीको आयोजना गर्दै आइरहेको कुरा थाहा पाउँदा मलाई खुसी लागेको छ ।

यस राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सवबाट स्वदेशी उत्पादनहरूको प्रदर्शन, प्रवर्द्धन एवं बजारीकरणमा महत्वपूर्ण योगदान पुग्नुका साथै यस प्रदर्शनीले उद्योगी व्यवसायीहरू बिच प्राविधिक र व्यवस्थापकीय अनुभवको आदान–प्रदान, उत्पादक, उपभोक्ता, विज्ञहरू एवं सरकारका निकायहरू बिच अन्तर्क्रियाको अवसर समेत प्रदान गर्ने मैले विश्‍वास लिएको छु ।

 

“समृद्ध नेपाल निर्माणको आधार, स्वदेशी उद्यमशिलताको विस्तार” भन्ने अत्यन्त सामयिक विषयवस्तुका साथ आयोजना गरिएको यस प्रदर्शनीले विगत करिब तीन वर्षदेखि कोभिड–१९ महामारीका कारण शिथिल हुन पुगेको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन सहयोग पुर्‍याउने पनि मैले विश्‍वास लिएको छु ।

विश्‍व शान्तिका अग्रदूत भगवान बुद्धको जन्मस्थल लुम्बिनीको काखमा आज तपाईंहरूले समृद्ध नेपाल निर्माण गर्न र स्वदेशी उद्यमशीलतालाई विस्तार गर्नुपर्ने अत्यन्त असल विचार अगाडि सार्नुभएको छ । हाम्रो सभ्यताले विकास गरेका प्राचीन शास्त्रहरूले ‘सर्वे भवन्तु सुखिन, सर्वे सन्तु निरामया’ को परिकल्पना गरेका छन्, जसमा हरेक व्यक्तिलाई सुखी रहनका निम्ति, निरोगी र उद्यमशील हुन आवश्यक पर्ने सन्देश अन्तर्निहित छ । बुद्धका उपदेशको सार पनि निस्वार्थ परिश्रम र मानव सेवासँग नै सम्बन्धित रहेको छ  । हाम्रो सभ्यताका यिनै मार्गदर्शन समेतलाई आधार मानेर  हामीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा तय गरेका छौं । यस प्रदर्शनीले मुलुकको समृद्धि र जनताको सुखको अपेक्षालाई प्रतिनिधित्व गर्दछ भन्ने मलाई लाग्दछ ।

उपस्थित भद्र महिला तथा सज्जनवृन्द,

वर्तमान अवस्थामा हाम्रो राष्ट्रिय अर्थतन्त्रले धेरै गम्भीर प्रकारका चुनौतीहरूको सामना गरिरहेको छ । एकातिर व्यापार घाटा निरन्तर बढिरहेको छ भने अर्कोतिर आयातमाथि हाम्रो निर्भरता  विस्तार भइरहेको छ । यसबाट हाम्रो विदेशी मुद्राको सञ्चितिमा अभूतपूर्व चाप परेको छ । हामीले यी चुनौतीहरूबाट पार पाउन स्वावलम्बी राष्ट्रिय अर्थतन्त्रको विकासलाई मूलभूत उद्देश्य बनाउनु पर्दछ ।

मुलुकको व्यापार घाटालाई तत्कालै कम गर्दै लैजान कृषि उत्पादन बढाउने, वन पैदावार र जडिबुटीमा आधारित आयात प्रतिस्थापन गर्ने तथा पर्यटन प्रवर्द्धन र जलविद्युतको स्वदेशी खपतमा जोड दिने नीतिहरू अवलम्बन गर्नु अति आवश्यक छ । हरेक स्थानीय तहले खेतीयोग्य जमिन बाँझो नराख्ने नीति बनाई युवा जनशक्ति र किसानहरूलाई उत्प्रेरित गर्न उद्योगी-व्यावसायीहरूसँग मिलेर काम गर्नुपर्ने आवश्यकता मैले महसुस गरेको छु । यसबाट  केही वर्षभित्रै नेपालको व्यापार घाटालाई कम गर्दै लैजाने आधारहरू निर्माण हुनुका साथै रोजगारी र उद्यमशीलताका नयाँ अवसरहरू सिर्जना गरी पुँजी र प्रतिभाको पलायन समेत रोक्न सकिन्छ भन्ने मलाई लाग्दछ  ।

स्वदेशी उत्पादनको प्रयोग, तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी तथा रोजगारी सिर्जना गर्ने कार्यमा   सहजीकरण गरिदिनु राज्यको असाध्यै गहन जिम्मेवारी हो । उच्च मनोबल भएका उद्यमी र किसानहरू नै मुलुकको आर्थिक विकासको मेरुदण्ड भएको हुनाले यसतर्फ राज्यका निकायहरूको ध्यान जानुपर्दछ । राज्यको ढुकुटीमा आफ्नो परिश्रमबाट कर तिर्ने उद्यमी र किसानले राज्यको क्षमताअनुसार सहज सेवा र अवसर प्राप्त गर्ने वातावरण निर्माण गर्न म सम्बद्ध सबैको ध्यान आकृष्ट गर्न चाहन्छु ।

औद्योगिक प्रदर्शनीमा प्रविधिलाई समेत समेटेर नवप्रवर्तनका क्षेत्रमा समेत यहाँहरूले देखाउनुभएको अग्रसरताका लागि रुपन्देही उद्योग संघ र लुम्बिनी प्रदेश उद्योग परिसंघलाई फेरी एकपल्ट धन्यवाद दिन चाहन्छु ।

विश्‍व शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको मात्र नभई विश्‍वभरिका बौद्धमार्गीहरूको पवित्र तीर्थस्थल समेत भएकोले यो क्षेत्र अन्तर्राष्ट्रिय धार्मिक पर्यटकीय गन्तव्यको रूपमा रहेको छ । लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ति सहरका रूपमा विकास गर्दै सभ्यता र आधुनिकताको नयाँ संगमस्थल बनाउन तपाईंहरूले गर्ने हरेक प्रयासमा मेरो व्यक्तिगत तथा संस्थागत साथ सदैव रहने विश्‍वास  समेत तपाईंहरूलाई दिलाउन चाहन्छु ।

यस सन्दर्भमा, हालसालै सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको कारण लुम्बिनी प्रदेशको पर्यटन लगायत समग्र आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने देखिन्छ । मुलुकको पर्यटन उद्योगलाई थप सुदृढ गर्नका लागि लुम्बिनीको भ्रमणमा आउने पर्यटकहरूले अन्य क्षेत्रको समेत भ्रमण गर्ने सम्भावनाहरूको खोजी र विस्तार गर्न आवश्यक छ । लुम्बिनी अन्तर्राष्ट्रिय विमान स्थललाई व्यवस्थित रूपमा सञ्चालन गर्नका लागि आवश्यक प्रवन्ध मिलाउन सम्बन्धित  निकायले तदारूकता देखाउनु पर्दछ ।

पछिल्ला दिनहरूमा लुम्बिनी प्रदेशका आर्थिक तथा औद्योगिक गतिविधिमा महिलाहरूको सहभागिता र नेतृत्वले धेरै सकारात्मक सन्देश दिएको छ । महिलाको व्यावसायिक नेतृत्व विकास तथा क्षमता अभिवृद्धिमा हामीले आर्थिक एवं मानवीय लगानी बढाउँदै लैजानुपर्दछ । यस अवसरमा उद्यमी महिला दिदीबहिनीहरुलाई अझ मेहनत गर्दै स्वावलम्बी बनेर अगाडि बढ्न म आह्वान गर्दछु ।

अन्तमा, यस भव्य समारोहमा मलाई आमन्त्रण गर्नु भएकोमा रुपन्देही उद्योग संघ र लुम्बिनी प्रदेश उद्योग परिसंघलाई धन्यवाद दिँदै पुनः एक पटक प्रदर्शनीको पूर्ण सफलताका साथै तपाईंहरू सबैको सुस्वास्थ्य एवं उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

बुटवल, रुपन्देही

२०७९ पौष ७ गते बिहीबार