सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उद्योग संगठन मोरङद्वारा आयोजित ‘विराट एक्स्पो २०७९: कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को उद्‍घाटन समारोहमा गर्नुभएको सम्बोधन

प्रदेश १ का माननीय प्रदेश प्रमुख‚

माननीय मुख्यमन्त्री तथा मन्त्रीहरू‚

स्थानीय तहका जनप्रतिनिधिहरू‚

उद्योग संगठन मोरङका अध्यक्ष तथा पदाधिकारीहरू‚

विभिन्न मुलुकबाट प्रदर्शनीमा सहभागी हुनुभएका विज्ञ तथा व्यवसायीहरू,

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू,

भद्रमहिला तथा सज्जनवृन्द !

उद्योग संगठन मोरङद्वारा आयोजित ‘विराट एक्स्पो २०७९: कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’ को उद्‍घाटन समारोहमा सहभागी भएर यस क्षेत्रका उद्योगी एवं व्यवसायीहरूसँग साक्षात्कार गर्ने र  औद्योगिक उत्पादनहरूको अवलोकन गर्ने अवसर प्राप्त भएकोमा मलाई अत्यन्त खुसी लागेको छ । औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्‍याउने उद्देश्य राखी विराट एक्स्पोको सातौं संस्करणको रूपमा ‘कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनी’को भव्य आयोजना गरेकोमा उद्योग संगठन मोरङलाई हार्दिक धन्यवाद दिँदै म एक्स्पोको पूर्ण सफलताको कामना गर्दछु ।

विशिष्ट प्रकारका औद्योगिक प्रदर्शनीहरूले उत्पादक र उपभोक्ता बिचको अन्तरसम्बन्ध स्थापित गर्ने तथा बजार र उत्पादनहरूको विस्तार गर्ने कार्यमा महत्वपूर्ण योगदान गर्दछन्  ।  यस एक्स्पोमा ‍औद्योगिक उत्पादनहरूको खरिदबिक्री हुने मात्र नभई उद्योगी व्यवसायीहरू बिच अनुभव र सिकाईको आदानप्रदान समेत हुनेछ भन्ने मैले विश्वास लिएको छु । नेपालसहित छिमेकी मुलुकहरूबाट समेत यस एक्स्पोमा सहभागी हुने उद्यमीहरूबीच पारस्परिक सम्पर्क विस्तार भई कृषि तथा औद्योगिक उत्पादनका नयाँ सम्भावना खोजी गर्न मद्दत पुग्नेछ भन्ने मलाई लागेको छ ।

यस एक्स्पोको माध्यमबाट यस प्रदेशका पर्यटकीय गन्तव्यहरू‚ कृषि‚ हस्तकला र औद्योगिक उत्पादनहरूको प्रवर्द्धनमा समेत विशेष टेवा पुग्ने मैले ठानेको छु । विगत करिब तीन वर्षदेखि कोभिड महामारीका कारण शिथिल हुन पुगेको आर्थिक गतिविधिलाई नयाँ उत्साह प्रदान गर्दै समग्र राष्ट्रिय अर्थतन्त्रलाई माथि उठाउन यस किसिमका प्रदर्शनीले सहयोग पुर्‍याउने छ भन्ने मैले विश्‍वास लिएको छु ।

उपस्थित भद्र महिला तथा सज्जनवृन्द,

नेपालको इतिहासमा विराटनगर क्षेत्रको विशिष्ट एवं सम्मानित पहिचान छ । विराटनगरका उद्योगीहरूले मुलुकको सामाजिक क्षेत्रमा गरेको योगदान समेत सधैं प्रशंसाको विषय रहिआएको छ । यद्यपि, केही दशक अघिसम्म देशको प्रमुख औद्योगिक केन्द्र रही राष्ट्रिय अर्थतन्त्रमा ठूलो योगदान गर्दै आएको विराटनगरले पछिल्ला वर्षयता आफ्नो पहिचान कायम राख्न संघर्ष गरिरहेको हामी सबैले अनुभव गरेका छौं  । महाभारतकालिन राजा विराटसँग समेत सम्बन्धित रहेको यस शहरले नेपाली सभ्यता र संस्कृतिको निर्माणमा समेत महत्वपूर्ण भूमिका खेल्न सक्दछ । इतिहासको गौरबलाई कायम राख्दै वर्तमान समयमा विराटनगरको मौलिक पहिचान दर्शाउने प्रतीकात्मक संरचनाको निर्माणको पहल गर्नका लागि म सम्बद्ध सबैको ध्यानाकर्षण गर्न चाहन्छु ।

यस औद्योगिक क्षेत्रमा थप लगानी भित्र्याउन तथा यहाँका परिश्रमी एवं देशप्रमी उद्योगी व्यवसायीहरूलाई उत्साहित तुल्याई राख्न सबै पक्षको विशेष ध्यान जान आवश्यक छ  । औद्योगिक क्षेत्रका समस्या पहिचानका लागि पहल गर्न यस क्षेत्रका सम्पूर्ण उद्योगी–व्यावसायीहरूलाई  आह्‍वान गर्दै निजी क्षेत्रका समस्या समाधानमा पहल गर्न सरकारको ध्यान आकृष्ट गर्न चाहन्छु । विराटनगरको नयाँ गौरव स्थापना गर्न तपाईंहरूले गर्ने हरेक पहलमा मेरो सदैव साथ रहने विश्वास समेत म यस अवसरमा दिलाउन चाहान्छु । विराटनगर क्षेत्रबाट फेरि एकपल्ट सम्पूर्ण मुलुकलाई नै ऐतिहासिक सन्देश दिनेगरी तपाईंहरूले अग्रसरता लिनु हुनेछ र यसबाट देशको आर्थिक एवं औद्योगिक क्षेत्रले नयाँ गतिशीलता प्राप्त गर्नेछ भन्ने मेरो विश्वास आजको यस कार्यक्रमबाट अझै सुदृढ भएको छ ।

प्रदेश १ को राजधानीको रूपमा रहेको विराटनगरले आर्थिक एवं ‍औद्योगिक विकासमा ठूलो सम्भावना बोकेको छ । मित्रराष्ट्र भारतको बढ्दो आर्थिक विकास र विस्तार हुँदै गएको बजारबाट यस क्षेत्रका उत्पादनहरूले लाभ लिन सक्दछन् । पछिल्लो समयमा विराटनगरदेखि संखुवासभाको किमाथांकासम्म जोड्ने कोशी राजमार्गको निर्माण प्रगति उन्मुख रहेकाले मित्रराष्ट्र चीनको बजारसँग समेत  सोझै जोडिन सक्ने सम्भावनाको नयाँ ढोका खुल्ने देखिन्छ । यसबाट समग्र प्रदेश र मुलुकको पर्यटन, कृषि एवं औद्योगिक विकास र विस्तारमा ठूलो योगदान पुग्ने अपेक्षा गर्न सकिन्छ ।

विराट सम्भावाना बोकेको विराटनगरले मुलुकको अर्थ व्यवस्थालाई स्वाधीन र स्वावलम्बी रूपमा निर्माण गर्न औद्योगिक क्षेत्रबाट अतुलनीय भूमिका खेल्न सक्दछ  । उद्योगहरूलाई आवश्यक पर्ने कच्चा पदार्थहरू सकेसम्म देशभित्रै उत्पादन गर्न किसान एवं उद्यमी बिचको सहकार्य अत्यन्त आवश्यक छ । स्वदेशी उत्पादनको प्रयोग, तुलनात्मक लाभका क्षेत्रहरूमा लगानी तथा रोजगारीको सिर्जना गर्ने कार्यहरू एक आपसमा अन्तरसम्बन्धित छन् । यसबाट आज मुलुकले भोग्नुपरेको चुलिँदो व्यापार घाटाको अवस्थालाई क्रमशः सन्तुलनमा ल्याउन मद्दत पुग्नुका साथै पुँजी र प्रतिभाको पलायन समेत रोक्न सकिन्छ ।

अन्तमा, यस भव्य समारोहमा मलाई आमन्त्रण गर्नु भएकोमा उद्योग संगठन मोरङका अध्यक्ष लगायत समस्त उद्योग संगठन परिवारलाई धन्यवाद दिन चाहन्छु । साथै‚ कृषि तथा औद्योगिक अन्तर्राष्ट्रिय प्रदर्शनीमा सहभागी हुन आउनु भएका नेपाल, भारत, बंगलादेश‚ चीन लगायत विभिन्न मुलुकका उद्योगी व्यवसायीहरूलाई धन्यवाद दिंदै पुनः एक पटक प्रदर्शनीको पूर्ण सफलताको कामना गर्दछु ।

धन्यवाद ।

२०७९ मङ्सिर २९ गते बिहीबार ।

विराटनगर ।