सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले बडा दसैँ, २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश

बडा दसैँ, २०७९ को शुभकामना सन्देश

नेपालीहरूको महान् चाड बडा दसैँ, २०७९ को पावन अवसरमा विश्‍वभर छरिएर रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालीहरूको सबभन्दा ठूलो चाडको रूपमा रहेको बडा दसैँ आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमीसम्म शक्तिको आराधना गरी विजया दशमीका दिन प्रसाद स्वरूप मान्यजनहरूको हातबाट टीका, जमरा र आशिर्वाद ग्रहण गरी पूर्णिमासम्म विशेष रूपमा मनाउने गरिन्छ ।

वर्षा ऋतुको अन्त्य र शरद ऋतुको सुरुवातसँगै मनाइने बडा दसैँ पर्वको धार्मिक‚ सांस्कृतिक‚ सामाजिक र आर्थिक आयामहरू रहेका छन् । नवदुर्गाको पूजा अर्चना गर्ने‚ मीठो मसिनो खाने‚ नयाँ राम्रो लाउने‚ घरको लिपपोत र बाटोघाटो सरसफाई गर्ने‚ लिङ्गे पिङ – रोटे पिङ खेल्ने‚ मान्यजनबाट टीका लगाउने र आफन्त भेटघाटका लागि माइत मावली जाने जस्ता बडा दसैँको अवसरमा गरिने रमाइला सामाजिक सांस्कृतिक क्रियाकलापहरू आम नेपालीको मन मस्तिष्कमा सुखद् स्मृतिको रूपमा अमिट भएर बसेका हुन्छन् । तसर्थ बडा दसैँ नेपालीहरूको साझा राष्ट्रिय मनोविज्ञानको एक महत्त्वपूर्ण कडीको रूपमा रहेको छ भन्ने मलाई लाग्दछ ।

यस प्रकारका चाडपर्वहरूको माध्यमबाट विविध जातजाति, भाषाभाषी, संस्कृति र भौगोलिक क्षेत्रका नेपालीहरूको बीचमा आपसी सद्‍भाव, सहिष्णुता र सहयोगको भावनालाई प्रगाढ बनाउदै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन सहयोग पुग्ने विश्‍वास लिएको छु ।

अन्तमा, बडा दसैँ पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक-सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै न्यायपूर्ण‚ समतामूलक‚ सभ्य एवं सुसंस्कृत समाज निर्माणका लागि थप  उत्साह, उमङ्गका साथ  क्रियाशील रहन प्रेरणा प्रदान गरोस् भन्‍ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ असोज १९ गते बुधबार ।