सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गौरा पर्व, २०७९ को अवसरमा दिनु भएको शुभकामना सन्देश

गौरा पर्व, २०७९ को शुभकामना सन्देश

गौरा पर्व, २०७९ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

हरेक वर्ष भाद्र शुक्ल पञ्चमीदेखि अष्टमीका दिनसम्म  विशेषगरी नेपालको मध्य तथा सुदूरपश्चिम क्षेत्रमा मनाइने गौरा पर्व एक महत्त्वपूर्ण सांस्कृतिक चाड हो । यस पर्वको अवसरमा शिव र पार्वती अर्थात् गौराको पूजा आराधना गरी व्रत बस्नाले मनोकांक्षा पूरा हुने, पारिवारिक सुख‚ शान्ति र सौभाग्य प्राप्त हुने जनविश्वास रहेको छ ।

गौरा पर्व मनाउने सन्दर्भमा परदेश गएकाहरू घर फर्कने‚ विवाहिता महिलाहरू माइत जाने‚ गहुँ‚ केराउ, गहत लगायत पाँच प्रकारका अन्नहरूको मिश्रणबाट बनेको ‘बिरुडा’ लाई प्रसादको रूपमा ग्रहण गरी देउडा‚ धमारी र ढुस्को खेल्दै रमाइलो गर्ने प्रचलन रहेको छ ।

यस पर्वले पारिवारिक तथा सामाजिक जीवनमा आपसी प्रेम‚ विश्‍वास र सद्‍भावलाई प्रगाढ बनाउनुका साथै विविध जातजाति¸ भाषाभाषी र सांस्कृतिक परम्परा बोकेका सम्पूर्ण नेपालीहरू बीचको भावनात्मक एकतालाई बलियो बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याउन महत्त्वपूर्ण भूमिका खेलिरहेको छ भन्ने मलाई लागेको छ ।

गौरा पर्वको यस अवसरमा‚ नेपाली मौलिक संस्कृतिको संरक्षण गर्दै समाजमा विद्यमान अन्धविश्‍वास‚ विभेद‚ विकृति एवं विसंगतिहरूलाई अन्त्य गरी सभ्य‚ सुसंस्कृत र समतामूलक  समाजको निर्माण गर्न हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७९ भदौ १८ गते शनिबार ।