सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालको ६३औँ वार्षिकोत्सव तथा वृहत् स्तनपान व्यवस्थापन केन्द्र (अमृत कोष)को समुद्‍घाटन कार्यक्रममा गर्नुभएको सम्बोधन

माननीय स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री‚

परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालका निर्देशक,

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू‚

भद्र महिला तथा सज्जनवृन्द ।

परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल ६२ बर्ष पूरा गरी ६३ बर्षमा प्रवेश गरेको सुखद् अवसरमा आयोजित यस कार्यक्रममा सहभागी भई तपाईँहरूसँग भेटघाट गर्न पाएकोमा मलाई अत्यन्त खुसी  लागेको छ, म खुसी व्यक्त गर्द चाहन्छु । साथै‚ यस अवसरमा अस्पतालले ह्युमन मिल्क बैंकको रूपमा ‘बृहत् स्तनपान व्यवस्थापन केन्द्र (अमृतकोष)’ स्थापना गरी सञ्चालनमा ल्याएकोमा समस्त अस्पताल परिवार तथा सेवाग्राहीहरूमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु । अस्पतालको ६३औँ वार्षिकोत्सव तथा अमृत कोष स्थापनाको यस सुखद् अवसरमा सम्पूर्ण अस्पताल परिवारका साथै स्थापनाकालदेखि नै अस्पतालको  सञ्चालन र व्यवस्थापनमा संलग्न सबैमा हार्दिक बधाई र सम्मान प्रकट गर्दछु ।

करिब छ दशकअघि ४० शैयाबाट सुरु भएको परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालले हाल ४९० शैयाबाट आफ्नो सेवा प्रदान गर्दै आएको थाहा पाउँदा मलाई अत्यन्त खुसी लागेको छ । आज यो अस्पताल महिला तथा स्त्रीरोगसम्बन्धी देशको विशिष्टीकृत स्वास्थ्य संस्थाको रूपमा स्थापित भैसकेको छ । अस्पतालले प्रसूति तथा स्त्रीरोगका साथै नवजात शिशुसम्बन्धी सरल, कम खर्चिलो, सुविधायुक्त र गुणस्तरीय सेवा उपलब्ध गराउदै आएको छ भन्ने मलाई लागेको छ । यस अस्पतालद्वारा विगत ६३ वर्षदेखि मुलुकभरका महिला तथा नवजात शिशुहरूलाई निरन्तर रूपमा प्रदान गरिंदै आएको सेवाका साथै मातृ तथा शिशु मृत्युदर घटाउन पुर्‍याएको योगदानको हृदयदेखि प्रशंसा गर्न चाहन्छु ।

अस्पतालको आफ्नै पहल र व्यापक दृष्टिकोणका आधारमा  अमृत कोषको स्थापना गरिनुलाई मैले मातृ तथा शिशु स्वास्थ्य सेवाको क्षेत्रमा एक ऐतिहासिक थालनीको रूपमा पाएको छु । नेपाली समाजमा आमाको दूध दान गर्नु पुरानो अभ्यासकै रूपमा रहेको भएता पनि अमृत कोषले सुव्यवस्थित र संस्थागत रूपमा आमाहरूबाट दान गरिएको दूधको सङ्कलन‚ प्रशोधन र भण्डारण गरी आवश्यक पर्ने शिशुहरूलाई वितरण गर्नेछ भन्ने मलाई लागेको छ । यसैगरी, ‘अमृत कोष’को स्थापनाबाट नेपालमा मातृ तथा शिशु मृत्युदर घटाउन महत्वपूर्ण योगदान पुग्नुका साथै स्तनपानको महत्त्वबारे जनचेतना जगाउन समेत सहयोग पुग्ने मैले विश्‍वास लिएको छु ।

यस अस्पतालले प्रदान गर्दै आएको विशिष्टीकृत स्वास्थ्य सेवा‚ विशेषगरी प्रसूतिसम्बन्धी सेवालाई मुलुकका विभिन्न ठाँउमा पुर्‍याउन गरेको पहल प्रशंसनीय रहेको छ । यसका साथै, अस्पताललाई प्रविधिमैत्री बनाउँदै विज्ञानले उपलब्ध गराएका अत्याधुनिक प्रविधिको प्रयोगबाट सेवाग्राहीलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्नेतर्फ अस्पताल व्यवस्थापन सक्रिय रहेको मैले महसुस गरेको छु । यस कार्यमा पनि तपाईंहरूलाई थप सफलता मिलोस् भन्ने म शुभकामना व्यक्त गर्दछु ।

स्वास्थ्य सेवाका विशिष्ट आवश्यकताको पहिचान गरी सोही अनुरूपको जनशक्ति तयार गर्नु मुलुकको सामु विद्यमान ठूलो चुनौती हो । स्वास्थ्य क्षेत्रको जनशक्ति विकासमा अल्पकालीन र दीर्घकालीन योजनाहरू निर्माण गर्न अस्पतालको अनुभव, कार्यक्षेत्र र सेवा विस्तारबाट महत्वपूर्ण सहयोग प्राप्त हुनेछ । नेपाल सरकारका सम्बद्ध निकायहरूले यसतर्फ आवश्यक पहल र समन्वय गर्न विशेष ध्यान दिने मैले अपेक्षा गरेको छु ।

यस अवसरमा, आज पुरस्कृत एवं सम्मानित हुनु भएका व्यक्तित्वहरूलाई म हार्दिक बधाई दिन चाहन्छु । यसैगरी, आज पुरस्कृत यस अस्पतालमा जन्मिएका शिशुहरू तथा आमाहरूलाई पनि बधाई तथा शुभकामना दिन चाहन्छु ।

अन्त्यमा, अस्पतालको सेवालाई अझ प्रभावकारी र सर्वसुलभ बनाउनका लागि आवश्यक व्यवस्थापकीय एवं प्राविधिक सुधार गर्दै गुणस्तरीय सेवा प्रदान गर्न थप सफलता मिल्ने विश्वास व्यक्त गर्दै  विषम परिस्थितिमा समेत कर्तव्यनिष्ट भई निरन्तर रूपमा विरामीको सेवामा समर्पित अस्पतालमा कार्यरत सम्पूर्ण डाक्टर, नर्स‚ स्वास्थ्यकर्मी एवं कर्मचारीहरूको उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद ।

२०७९ साल भदौ ३ गते‚ शुक्रबार ।

थापाथली‚ काठमाडौँ ।