सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले इद उल अज्हा (बकर इद) पर्व, २०७९ को अवसरमा दिनुभएको शुभकामना सन्देश

 इद उल अज्हा (बकर इद) पर्व, २०७९ को शुभकामना सन्देश

इस्लाम धर्मावलम्बीहरूको महान् पर्व इद उल अज्हा (बकर इद) को पावन अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) संयमता, धैर्यता, विश्‍व शान्ति र भाइचाराको सन्देश दिने चाड हो । यो पर्व एक आपसमा खुसी, सद्‍भाव तथा  शुभकामना आदानप्रदान गरी मनाउने गरिन्छ ।

नेपाली समाज विविध जातजाति, भाषाभाषी र संस्कृतिहरूको सुन्दर फूलबारीको रूपमा रहेको छ । यही विविधता बिचको एकता नै हाम्रो राष्ट्रिय पहिचान र सामर्थ्य हो । यस्ता चाडपर्वहरूको माध्यमबाट फरक भूगोल‚ संस्कृति र भाषाभाषीका समुदायहरू बिच आपसी एकता‚ सद्‍भाव‚ सहिष्णुताको भावना अभिवृद्धि भई नेपालीहरूको वृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने मैले विश्‍वास लिएको छु ।

इद उल अज्हा (बकर इद)ले सबै नेपालीलाई आ–आफ्नो मौलिक परम्परा र संस्कृतिको संरक्षण‚ संवर्द्धन र विकास गर्दै प्रगतिशील‚ सभ्य एवं सुसंस्कृत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्दछु ।

धन्यवाद ।

२०७९ असार २६ गते आइतबार ।