सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले ‘सबल र आत्मनिर्भर अर्थतन्त्रका लागि   कृषि उत्पादन: सम्भावना, अनुभव र सिकाइ’ विषयक अन्तरक्रिया कार्यकममा गर्नुभएको सम्बोधन

माननीय कृषि तथा पशुपंक्षी विकास मन्त्री‚

मदन भण्डारी फाउन्डेसनका पदाधिकारी तथा सदस्यहरू,

कृषि क्षेत्रका विशेषज्ञ तथा व्यवसायीहरू‚

राष्ट्रसेवकहरू‚

सञ्चारकर्मीहरू‚

भद्र महिला तथा सज्जनवृन्द ।

नेपालमा प्राङ्गारिक र व्यावसायिक कृषिको  प्रवर्द्धनका लागि यस क्षेत्रका व्यवसायी र विज्ञहरूसँग छलफल गर्न आयोजित यस कार्यक्रममा तपाईंहरूका विचार सुन्न पाउँदा मलाई खुसी लागेको छ । राष्ट्रपति कार्यालयमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु । अत्यन्त सान्दर्भिक विषयमा केन्द्रित रहेर कार्यक्रम आयोजना गरेकोमा म मदन भण्डारी फाउन्डेसनलाई धन्यवाद दिन चाहान्छु  ।

आजै राष्ट्रिय धान दिवस (असार १५) पनि भएकाले  तपाईंहरूका माध्यमबाट म देशका सम्पूर्ण किसान दिदीबहिनी दाजुभाइहरूप्रति हार्दिक कृतज्ञता प्रकट गर्दछु, उहाँहरूलाई धन्यवाद भन्न चाहान्छु, आभार प्रकट गर्दछु ।

नेपालले विक्रम संवत् २०६१ सालदेखि राष्ट्रिय धान दिवस मनाउँदै आएको छ । हाम्रो देशमा उत्पादन हुने खाद्यबालीहरू मध्ये धान महत्वपूर्ण भएकाले यस दिवसको विशिष्ट अर्थ र महत्व रहेको छ । यस अवसरमा हामीले मुलुकको समग्र कृषि प्रणाली, खाद्य सुरक्षाको अवस्था, उत्पादकत्व वृद्धि, कृषिमा आधारित पेशा र व्यवसायको मर्यादा वृद्धि एवं किसानका समस्याहरूको समाधान गर्ने विषयमा सार्थक छलफल गर्नु सान्दर्भिक हुन्छ । धान-चामल माथिको हाम्रो निर्भरतालाई कम गर्न बाली विविधिकरण गरी किसानले फलाउने मकै, गहुँ‚ कोदो, फापर‚ चिनो‚ कागुनो र जुनेलो जस्ता रैथाने बालीको प्रवर्द्धन  गर्नु पनि धान दिवसको उद्देश्य भित्रै पर्दछ भन्ने मलाई लाग्दछ । आज धान दिवस भए पनि कृषिप्रधान हाम्रो मुलुकका लागि पूरा वर्ष नै कृषि दिवस जस्तै हो र हुनु पर्दछ ।

हाम्रो कृषि प्रणाली मूलभूत रूपले जीविकोपार्जनमा सिमित र किसानको शारीरिक परिश्रममा आधारित छ । तसर्थ कृषि पेशालाई व्यवस्थित, व्यावसायिक र मर्यादित बनाउन नसकेसम्म उत्पादकत्व वृद्धि गरी कृषिलाई उद्योगका रूपमा विकास गर्ने हाम्रो लक्ष्य पूरा हुन सक्दैन ।

वर्तमान समयमा हाम्रा सामु एकातिर खाद्य वस्तुको बढ्दो आयातका कारण कृषि क्षेत्रको र समग्र मुलुकको व्यापार घाटा कम गर्नुपर्ने चुनौती छ भने अर्कोतिर मुलुकको सम्पूर्ण जनसंख्याका लागि खाद्य सुरक्षा, पौष्टिक आहार र स्वस्थ जीवन सुनिश्चित गर्नुपर्ने दायित्व रहेको छ । सम्मानित कृषि व्यवसाय र आत्मविश्वासले भरिएका किसानको मेहनतबाट मात्र हामीले यी चुनौतीको सामना गर्न सक्दछौं ।

कृषि व्यवसाय र उत्पादकत्व वृद्धिको विषयमा चर्चा गर्दा हामीले यसको सम्पूर्ण चक्रलाई सम्बोधन गर्न सक्नुपर्दछ । आधुनिक प्रविधिको प्रयोग‚ बिउबिजन र मलको समयमै उपलब्धता, उत्पादन हुँदै बजार र उपभोग सम्मको चक्रमा किसानलाई हाम्रा नीति तथा कार्यक्रमहरूको माध्यमबाट सहजीकरण गर्नु आवश्यक छ  ।  उत्पादनदेखि बजारसम्म पुग्न किसानलाई आवश्यक पर्ने बाटो, सिंचाई, कृषि उपकरण जस्ता अधारभूत पूर्वाधारहरूको निर्माणमा नेपाल सरकारले अग्रसरता लिनुपर्दछ । बाँझो जमिनलाई आवाद गर्न संघ‚ प्रदेश र स्थानीय तहका सरकारहरूले भूमिका खेल्नुपर्दछ ।

हाम्रो मुलुकमा कृषि कार्यको मूल हिस्सा खाद्यबाली उत्पादन र पशुपन्छी पालनले ओगटेको भएतापनि फलफूल उत्पादन, फूल खेती, जडीबुटी उत्पादन जस्ता विशिष्टीकृत क्षेत्रले कृषिको व्यावसायीकरणमा ठूलो योगदान गर्ने सम्भावना’bout हामी जानकार छौं । धेरै प्रकारका उद्योगहरूमा प्रयोग हुने कच्चा पदार्थहरू कृषिबाटै प्राप्त हुन्छन् ।  चिया‚ अलैँची‚ अदुवा‚ कपास, जुट‚ अम्रिसो‚ उखु, बाँस, निगालो आदिको खेतीबाट किसानलाई तत्काल आर्थिक लाभ मिल्ने हुनाले यसैमा आधारित कृषि उद्योगहरूको स्थापना एवं दिगो सञ्चालनमा जोड दिनु अत्यावश्यक भएकोतर्फ म सम्बद्ध पक्षको ध्यानाकर्षण गर्दछु । यस्ता उद्योगबाट स्वदेशी उत्पादन बढ्न गई आयात प्रतिस्थापन गर्न सकिने र मुलुकले सामना गरिरहेको व्यापार घाटा न्यूनीकरण गर्न सहयोग पुग्नेछ भन्ने मलाई लागेको छ  ।

कृषि क्षेत्र प्रत्यक्ष उत्पादनसँग सम्बन्धित भएको हुनाले स्वदेशमा नै रोजगारी सिर्जना गर्न सकिने प्रशस्त सम्भावना रहेको छ  ।  हालैका वर्षहरूमा स्वदेश तथा विदेशमा सिकेको ज्ञान र अनुभवलाई कृषि क्षेत्रमा समर्पित गर्न चाहने उत्साही युवाहरूको संख्या उल्लेख्य रूपमा बढ्दै जानु सकारात्मक उपलब्धी हो । सफल कृषि व्यवसायीहरूसँग अनुभवको आदान–प्रदान, नेपाल सरकारबाट कृषि क्षेत्रलाई उपलब्ध गराइने स्रोत र साधनको सदुपयोग तथा कृषि पेशाको प्रतिष्ठा अभिवृद्धि गर्न हामीले गर्ने प्रयासबाट मात्र युवा किसानलाई यस क्षेत्रमा दिगो गरी आकर्षित गर्न र कायम राख्न सकिन्छ ।

यसै क्रममा जननेता मदन भण्डारीको ७१ औँ जन्मदिवसका अवसरमा मदन भण्डारी फाउन्डेसनले हिजो मात्रै धरानका युवा किसान व्यवसायी कृष्ण राईलाई यस वर्षको मदन भण्डारी राष्ट्रिय पुरस्कारले साम्मनित गरेको थाहा पाउँदा मलाई खुसी लागेको छ ।  फाउन्डेसनले प्राङ्गारिक कृषिलाई व्यवसाय बनाउने किसानहरूको  हौसला बढाउनु कार्य गर्नु असाध्यै सराहनीय कार्य हो ।

त्यसैगरी, यस वर्षदेखि प्रदान गर्न थालिएको मदन भण्डारी रूपान्तरण नेतृत्व राष्ट्रिय पुरस्कार प्राप्त गर्ने प्रभा चालिसेले शिक्षा क्षेत्रमा गर्नुभएको उदाहरणीय कार्यका लागि सम्मान प्राप्त गर्नुभएको मैले जानकारी पाएको छु । कृषि र शिक्षा नै हाम्रो देशको अग्रगतिको रथका दुई पाङ्ग्रा हुन् ।  यी दुई क्षेत्रको समुचित विकासबाट हामीले ‘समृद्ध नेपाल सुखी नेपाली’ बनाउने राष्ट्रिय उद्देश्य पूरा गर्न सक्दछौं ।

अन्त्यमा‚ यस महत्वपूर्ण कार्यक्रममा तपाईँहरूको उपस्थिति र सहभागिताको लागि पुन: हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

२०७९ साल असार १५ गते बुधबार ।