सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट जीवन विकास समाज‚ मोरङद्वारा आयोजित ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७ वितरण समारोह’मा गर्नुभएको सम्बोधन

जीवन विकास समाज‚ मोरङद्वारा स्थापना गरिएको ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार २०७७’ वितरण समारोहमा सहभागी भएर सामाजिक सेवा तथा शैक्षिक क्षेत्रका अग्रणी व्यक्तित्वहरूसँग भेट गर्न पाउँदा मलाई खुसी लागेको छ । राष्ट्रपति कार्यालयमा म  यहाँहरू सबैलाई हार्दिक स्वागत गर्दछु ।

प्रकृतिसँग सन्तुलन कायम गर्दै मानव जीवनलाई सुखी एवं समृद्ध बनाउने चेतनासहितको भौतिक निर्माण नै दिगो विकासको अवधारणा हो । मुलुकको सर्वाङ्गीण समृद्धिका लागि शिक्षालाई पूर्वाधारको पनि पूर्वाधारका रूपमा लिइने गरिन्छ । देशको सामाजिक, आर्थिक, सांस्कृतिक र पूर्वाधार विकासका लागि आवश्यक पर्ने असल, योग्य, सक्षम, प्रतिस्पर्धी र उत्पादनमूलक जनशक्ति शैक्षिक संस्थाहरूले नै तयार गर्दछन् ।

हाम्रा प्राचीन ग्रन्थहरूमा उल्लेख भएको ‘विद्या धनम् सर्व धनम् प्रधानम्’ भन्ने भनाई आज हाम्रो सामाजिक उक्ति बनेको छ । गुणस्तरीय शिक्षालाई हामीले हाम्रो जीवनकालमा आर्जन गर्ने सक्ने सबैभन्दा महत्वपूर्ण स्रोत र  साधनका रूपमा लिनु पर्दछ ।

सीपमूलक, वैज्ञानिक, व्यावहारिक एवं गुणस्तरीय शिक्षा हाम्रो प्रगतिको आधारशिला हो भने गुणस्तरीय शिक्षामा सबै नागरिकको समतामूलक र न्यायोचित पहुँच स्थापित गर्नु आजको चुनौति हो । यी चुनौतिहरूको सामना गर्न राष्ट्रका सम्बद्ध संस्थाहरूले विशेष मेहनत गर्नुपर्ने खाँचो छ । सामाजिक संघसंस्था, स्वयंसेवी संगठनहरू लगायत नागरिक तहबाट हुने प्रयासले राज्यको यो उद्धेश्यलाई थप सहयोग पुग्ने मैले लिएको छु ।

सामाजिक संस्थाको रूपमा कार्यरत जीवन विकास समाज‚ मोरङले दिगो विकासका लक्ष्यसँग समाञ्जस्य हुनेगरी शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याएको कुरा थाहा पाउँदा मलाई खुसी लागेको छ ।

अन्तर्राष्ट्रिय रूपमा आफूले प्राप्त गरेको पुरस्कारमा त्यति नै रकम थप गरी स्थायी कोष मार्फत यस समाजले स्थापना गरेको ‘जीवन विकास पुरस्कार’ लाई दिगो विकासको लक्ष्य प्राप्त गर्ने दिशामा पुर्‍याएको योगदानको रूपमा मैले लिएको छु ।

आज यो पुरस्कार प्राप्त गर्ने विभिन्न गैरसरकारी संस्था, शैक्षिक संस्था तथा पत्रकारहरुलाई हार्दिक बधाई दिन चाहन्छु । यो पुरस्कारबाट यस क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघ, संस्था तथा शिक्षाका क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत थप हौसला प्राप्त हुनेछ भन्ने मैले विश्वास लिएको छु । पुरस्कार व्यवस्थापनमा सहयोग पुर्‍याउन गठित पुरस्कार निर्देशक समिति तथा मूल्याङ्कन समितिलाई मेरो तर्फबाट धन्यवाद दिन चाहन्छु  ।

सहकार्य र सहभागिताको भावनाबाट दिगो विकासका लक्ष्य हासिल गर्न तथा विभिन्न अन्तर्राष्ट्रिय स्तरमा नेपालले व्यक्त गरेका प्रतिवद्धता कार्यान्वयन गर्नसमेत सबैको साझा प्रयासका लागि आव्हान गर्दै कार्यक्रम सफलताको शुभकामना दिन चाहन्छु ।

धन्यवाद ।

२०७९ साल जेठ २७ गते‚ शुक्रबार