सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपाल सङ्गीत तथा नाट्य पुरस्कार समर्पण कार्यक्रम २०७९ मा गर्नु भएको सम्बोधन

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आयोजना गरेको यस ‘पुरस्कार समर्पण कार्यक्रम’मा सहभागी भई सङ्गीत एवं नाट्य क्षेत्रका विशिष्ट साधक एवं विज्ञहरूसँग भेटघाट गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म आज पुरस्कृत हुनुहुने सङ्गीत एवं नाट्य क्षेत्रका साधकहरूलाई हार्दिक बधाई दिन चाहन्छु । र, तपाईंहरू सबैलाई राष्ट्रपति भवनमा हार्दिक स्वागत गर्दछु ।

सङ्गीत तथा नाट्य कलाको संरक्षण, सम्बर्द्धन एवं विकास गर्ने उद्देश्यका साथ स्थापित नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले एकातिर हाम्रो मौलिक कलाको खोज र अनुसन्धान गर्ने दायित्व पाएको छ भने, अर्कोतिर अन्तर्राष्ट्रिय जगतमा विकास भैरहेका नयाँ संगीत र नाट्य शैलीको अध्ययन गरी नेपाली कला क्षेत्रलाई सोही अनुरूप आधुनिक विश्वसामु पेश गर्नुपर्ने खाँचो रहेको छ ।

यसै सिलसिलामा प्रतिष्ठानले देशको संगीत एवं नाट्य क्षेत्रका विशिष्ट साधक एवं प्रतिभाहरूको योगदान’bout अध्ययन गरी पुरस्कृत र सम्मानित गर्ने परम्परा बसाल्नु सराहनीय कार्य हो ।  यस कार्यक्रममा आज मलाई सङ्गीत, नृत्य तथा नाट्य क्षेत्रका ६ जना विशिष्ट व्यक्तित्वहरूलाई प्रज्ञा-पुरस्कार २०७८ बाट पुरस्कृत तथा सम्मानित गर्न अवसर मिलेकोमा अत्यन्त खुसी लागेको छ ।

आज पुरस्कृत हुनुभएका व्यक्तित्वहरू लगायत सङ्गीत तथा नाट्य क्षेत्रका अन्य विशिष्ट प्रतिभा‚ श्रष्टा र साधकहरू हाम्रो राष्ट्रका निधि हुनुहुन्छ । आफ्ना सिर्जना तथा साधनाको माध्यमबाट नेपालको सङ्गीत, नृत्य लगायतका प्रदर्शनकलाको बगैँचालाई सुसज्जित बनाउने व्यक्तित्वहरूका योगदानले हाम्रो समग्र कला‚ साहित्य र संस्कृतिलाई नै उन्नत र समृद्ध बनाएको छ भन्ने मलाई लाग्दछ ।

नेपालको सङ्गीत तथा नाट्य क्षेत्रको विकासको लागि सम्मन्वयकारी एवं नेतृत्वदायी भूमिकामा रहेको नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका प्रस्तुतिमूलक र अनुसन्धानमूलक कार्यहरूले हाम्रो संस्कृतिको भण्डार थप समृद्ध बनिरहेको छ भन्ने ठानेको छु ।

कोभिड–१९ महामारीका कारण देशका अन्य क्षेत्र झैँ सङ्गीत-नाट्य क्षेत्रले पनि गएको दुई वर्षमा निकै कठिन परिस्थितिबाट गुज्रनु पर्‍यो । दर्शक र भावकहरूको प्रत्यक्ष उपस्थितिका बीचमा मात्र सङ्गीत र नाट्यसम्बन्धी प्रस्तुतिमूलक क्रियाकलाप गर्न सकिने भएकाले यस अवधिमा यस्ता कार्यक्रमहरू आयोजना गर्न असम्भव जस्तै थियो । तथापि‚ नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठानले विद्युतीय वा भर्चुअल  माध्यमबाट कोरोना कालमा समेत आफ्ना गतिविधिहरूलाई निरन्तरता दिएको थाहा पाउँदा मलाई खुसी लागेको छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान अब आफ्नै स्वामित्वमा निर्मित कार्यालय भवनमा सर्न लागेको कुराले सम्पूर्ण सङ्गीत तथा नाट्यप्रेमीहरूमा खुशीको सञ्चार गरेको हुनुपर्दछ । आगामी दिनमा आफ्नै सभाकक्ष सहितको कार्यालय भवनबाट प्रतिष्ठानले अझ प्रभावकारी ढङ्गले आफ्ना गतिविधिलाई अगाडि बढाउने छ भन्ने विश्वास लिएको छु ।

अन्त्यमा, आज पुरस्कृत हुनु भएका सम्पूर्ण श्रष्टा एवं साधकहरूलाई हार्दिक बधाई दिदै उहाँहरूको सुस्वास्थ्य, उत्तरोत्तर प्रगतिसहित सिर्जनशील जीवनको शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद

२०७९ जेठ २३ गते सोमबार ।

राष्ट्रपतिको कार्यालय‚ महाराजगञ्ज