सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नाक–कान–घाँटी रोगका विशेषज्ञ चिकित्सकहरूको १२औँ दक्षिण एशियाली क्षेत्रीय सम्मेलनमा गर्नुभएको सम्बोधन

माननीय स्वास्थ्यमन्त्री,

आ–आफ्नो क्षेत्रका विशेषज्ञ चिकित्सकहरू,

यस सम्मेलनमा भाग लिन विभिन्न मित्र राष्ट्रबाट आउनुभएका अतिथिहरू,

आयोजक समितिका पदाधिकारीहरू‚

उपस्थित भद्रमहिला तथा सज्जनवृन्द,

नाक–कान–घाँटी रोगका विशेषज्ञ चिकित्सकहरूको यस दक्षिण एशियाली क्षेत्रीय सम्मेलनमा तपाईंहरूसँग भेट गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा सम्मेलनको सफल आयोजनाका लागि तपाईंहरूलाई अग्रिम बधाई दिंदै यस सम्मेलनलाई करिब दस वर्षपछि नेपालमा आयोजना गर्नुभएकोमा म विशेष धन्यवाद दिन चाहन्छु ।

तपाईंहरूको व्यावसायिक दक्षतालाई अझ विकास गर्दै लैजान विशेष महत्व राख्ने यो विशिष्ट सम्मेलन नेपालमा आयोजना हुनुले मलाई प्रसन्नताको अनुभूति भएको छ । कोभिड–१९ महामारी पूर्ण रूपमा अन्त्य नभैसकेको भएतापनि खोपको उपलब्धता र यस क्षेत्रका राष्ट्रहरूले अवलम्बन गरेका प्रभावकारी नीतिका कारण महामारीबाट अब हामीले विस्तारै मुक्ति पाउन लागेका छौं भन्ने पक्षलाई समेत भौतिक उपस्थितिमा हुन लागेको यस सम्मेलनले स्पष्ट गरेको छ ।

चिकित्सा विज्ञानका सबै विधा र क्षेत्रहरू उत्तिकै महत्वपूर्ण छन् । आधुनिक विज्ञान र प्रविधिको विकास एवं विश्वव्यापीकरणमा आएको तीव्रताका कारण मानव सभ्यताले एक अर्कासँग सहज अन्तरक्रिया गर्न सक्षम भएसँगै औषधोपचारका क्षेत्रमा पनि अनुभव र सीपको आदानप्रदान सजिलो भएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठनका सदस्य राष्ट्रहरूमा जनस्तर र विज्ञ समुदाय बिच आपसी सम्बन्ध अभिवृद्धि गर्न यस्ता सम्मेलनहरूको विशेष महत्व हुन्छ भन्ने मलाई लाग्दछ ।

दक्षिण एसियामा रोग, भोक, गरिबी र बेरोजगारी हाम्रा साझा चुनौती हुन् ।  ती चुनौतीको सामना गर्न जनस्तरसम्म नै पास्परिक सहयोग, साझा भावना र सामुहिकता आवश्यक पर्दछ । हाम्रा राष्ट्रहरूका बिचमा र जनस्तरमा हुने अन्तरक्रियात्मक सम्बन्धले नै सार्क भावनालाई अझ बलियो बनाउँदै लैजान्छ । त्यसतर्फ तपाईंहरूको संगठनले लामो समयदेखि गर्दै आएको योगदानको म उच्च प्रशंसा एवं सराहना गर्दछु ।

यस सम्मेलनमा हुने छलफलबाट नाक–कान–घाँटी रोगको निदान एवं उपचारमा विकास भएका नवीनतम् प्रविधिहरूको बारेमा थप अवगत हुनुका साथै आपसी सीप, अनुभव र सम्बन्ध साझा गर्न समेत मद्दत पुग्नेछ भन्ने मैले अपेक्षा लिएको छु ।  सम्मेलनमा सार्क मुलुकका साथै विश्वका अन्य राष्ट्रहरूबाट विज्ञहरूलाई आमन्त्रण गरी सञ्चालन हुने छलफलबाट नाक–कान–घाँटी रोगको उपचारका क्षेत्रमा ज्ञानको अभिवृद्धि गर्ने मञ्चका रूपमा यस सम्मेलनलाई मैले पाएको छु ।

मैले प्राप्त गरेको जानकारीअनुसार दक्षिण एसियाली क्षेत्रमा नाक–कान–घाँटी रोगका प्रकृतिहरू धेरै हदसम्म समान छन् । तसर्थ त्यसको समाधानका लागि हामीले अवलम्बन गर्ने  रणनीतिहरू बनाउन समेत यो सम्मेलनबाट प्राप्त निष्कर्षहरूले हामी सबैलाई मार्गदर्शन गर्न सक्दछन् । यसको प्रतिफल सम्पूर्ण विश्व समुदायले प्राप्त गर्ने मैले आशा लिएको छु ।

नेपालमा नाक–कान–घाँटी रोगको विशेषज्ञ उपचारलाई ग्रामीण तहसम्म लैजानुपर्ने ठूलो चुनौती हाम्रासामु विद्यमान छ । स्वास्थ्यका क्षेत्रमा भौतिक पूर्वाधारका साथै दक्ष मानवस्रोतको विकास गरी हरेक नागरिक समक्ष विशेषज्ञ सेवा पुर्‍याउने हाम्रो लक्ष्य रहनुपर्दछ । यसका लागि नेपाल सरकारका सम्बद्ध निकायको सत्प्रयास र तपाईंहरूको विज्ञताका बीचमा  सहकार्य आवश्यक पर्दछ । नाक, कान तथा घाँटी रोगको निदान एवं उपचारबाट श्रवण—अपाङ्गता तथा वाक अपाङ्खतालाई कम गर्नसक्नुको साथै यस क्षेत्रमा काम गर्ने जनशक्तिको आत्मबल, आत्मसम्मान र हौसला पनि बढ्ने छ ।

रोग लाग्नुभन्दा रोग लाग्नै नदिनु राम्रो भन्ने उक्तिलाई मनन गर्दै स्वच्छ वातावरण, स्वस्थ्य एवं सन्तुलित खानपान र जीवनशैली अपनाउँदै रोकथामका उपायहरूको अवलम्बन गरेमा नाक, कान घाँटीका कतिपय समस्याहरूमा कमी आउँदै जाने विश्वास गर्न सकिन्छ ।

यसैगरी स्वास्थ्य नै धन हो भन्ने हाम्रो मान्यतालाई व्यवहारमा उतार्न सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढ तुल्याउनु पर्दछ । यसका निम्ति राज्यले चिकित्सा शिक्षाको विकासमा जोड दिँदै गुणस्तरीय जनशक्ति उत्पादनमा ठोस योगदान पुर्‍याउनु पर्दछ । साथै, राज्यले विशिष्टीकृत स्वास्थ्य सेवा प्रवर्द्धनका लागि अध्ययन अनुसन्धानमा समेत लगानी बढाउनु पर्ने खाँचो रहेको छ । यसबाट एकातिर न्यून आय भएका जनताका छोराछोरीले चिकित्सा शिक्षा अध्ययन गर्ने अवसर प्राप्त गर्दछन् भने अर्कातिर गरिब तथा निमुखा जनताले समेत स्वास्थ्य सेवा लिन सहज अवस्था सिर्जना हुन पुग्दछ ।

यस सम्मेलनले नाका–कान–घाँटीसम्बन्धी रोगको अनुसन्धान, निदान एवं उपचारका क्षेत्रमा हाम्रा सझा समस्याहरूलाई कम गर्न महत्वपूर्ण निर्णय गर्ने अपेक्षासहित विभिन्न मुलुकबाट नेपाल आउनुभएका अतिथिहरूलाई म सुखद् नेपाल बसाईको कामना गर्दछु । र, फेरि एकपल्ट यस सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु ।

धन्यवाद ।

२०७९ जेठ १३ गते शुक्रबार ।

काठमाडौं, नेपाल