सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले उँभौली पर्व, २०७९ अवसरमा दिनुभएको शुभकामना सन्देश

उभौली पर्व, २०७९ को शुभकामना सन्देश

नेपाली किराँत समुदायको महान् पर्व उभौलीको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका राई, लिम्बू, सुनुवार, याक्खा लगायत सम्पूर्ण किराँत दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जाडो यामको अन्त्य र गर्मी यामको सुरुआतसँगै जङ्गली जनावर र पशुपन्छीहरू बेँसीबाट लेकतर्फ बसाइँ सर्ने समय मानेर वैशाख शुक्ल पूर्णिमा (वैशाखे पूर्णे) लाई उभौली पर्वको रूपमा मनाइन्छ । किराँत समुदायमा प्रकृति र पितृपूजनको समृद्ध संस्कृति विद्यमान छ । गृष्म ऋतुसँगै वर्षातको मौसम समेत प्रारम्भ हुने हुनाले उभौली पर्व मनाउने सिलसिलामा अन्नबाली सप्रियोस्¸ रोगव्याधि नलागोस्¸ सुख्खा खडेरी¸ बाढी¸ पहिरो जस्ता प्राकृतिक विपत्तिहरू नआऊन् भनी पितृ र भूमिको पूजा गर्ने परम्परा रहेको छ । विशेषगरी पूर्वी पहाड र तराईका जिल्लाहरूका साथै काठमाडौँ उपत्यकामा बसोबास गर्दै आएका किराँत समुदायमा यो पर्वलाई भव्यताका साथ मनाउने गरिन्छ ।

प्रकृतिको ऋतुचक्रसँग तादात्म्य कायम गरी कृषिबाट जीवनवृत्ति गर्ने समुदायले ठूलो महत्वका साथ मनाउने  उभौली पर्वले मानव र प्रकृति बीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै प्रकृति र वातावरणको संरक्षणका लागि समेत हामी सबैलाई उत्प्रेरित गर्दछ भन्ने मलाई लाग्दछ । साथै, उभौली जस्ता सांस्कृतिक पर्वहरूका माध्यमबाट विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव‚ सहिष्णुता र एकताको भावना अभिवृद्धि हुन गई वृहत् राष्ट्रिय एकता सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्दछु ।

अन्तमा, किराँत समुदायको यस उभौली पर्वले सम्पूर्ण नेपालीहरू बीचको सामाजिक-सांस्कृतिक ऐक्यबद्धतालाई थप सुदृढ गर्दै समृद्ध‚ समतामूलक‚ सभ्य र सुसंस्कृत समाज निर्माणका लागि हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्‍ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७९ जेठ २ गते, सोमबार ।