सम्माननीय राष्‍ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले दसौँ गैरआवासीय नेपाली विश्व सम्मेलनको उदघाटन समारोहमा प्रमुख अतिथिका रूपमा गर्नुभएको सम्बोधन

माननीय परराष्ट्र मन्त्री‚

गैरआवासीय नेपाली संघका कार्य समितिका पदाधिकारीहरू‚

यस सम्मेलनमा भाग लिन आउनुभएका प्रतिनिधिहरू‚

भद्र महिला तथा सज्जन वृन्द ।

विश्वका विभिन्न मुलुकमा बसोबास गर्दै आउनु भएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई मातृभूमिमा स्वागत गर्न पाउँदा मलाई खुसी लागेको छ । यस अवसरमा म दसौँ गैरआवासीय नेपाली विश्व सम्मेलनको पूर्ण सफलताको कामना गर्दछु ।

विदेशमा रहेर पनि तपाईंहरूले मातृभूमिप्रति दर्शाउनु भएको अपनत्व र माया प्रशंसनीय रहेको छ । तपाईंहरूको यस सद्‌भावलाई राष्ट्रले उच्च मुल्याङ्कन गरेको छ र भविष्यमा पनि गर्दै जाने मैले विश्वास लिएको छु ।  विदेशमा बसोबास गर्ने नेपाली समुदायको हितलाई प्रवर्द्धन गर्ने, राष्ट्रिय छवि निर्माण गर्ने र नेपालको विकास एवं आधुनिकीकरणको प्रयासमा योगदान पुर्‍याउने गैरआवासीय नेपाली संघका कार्यहरू प्रशंसनीय छन् ।

नेपालको संविधानले गैरआवासीय नेपालीहरूलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार सहितको गैरआवासीय नेपाली नागरिकता प्रदान गर्ने परिकल्पना गरेको छ । आवश्यक कानुनको निर्माणपश्चात् यो व्यवस्था क्रमश: लागू हुँदै जाने मैले विश्वास लिएको छु ।

नेपालको विशिष्ट संस्कृति र परम्परालाई विश्वसामु चिनाउन गैरआवासीय नेपालीहरूको योगदान उल्लेख्य रहेको छ । यस कार्यले नेपालको पर्यटन प्रवर्द्धनमा समेत टेवा पुगेको हामीले महशुस गरेका छौं ।  तपाईंहरू सबैले आफू बसोबास गरेको मुलुकमा नेपालको सांस्कृतिक दूतका रूपमा भूमिका निर्वाह गर्दै आउनुभएको छ । नेपाली कला, संस्कृति, भाषा, भेषभूषा र परम्परालाई विदेशमा जन्मे–हुर्केका आगामी पुस्तामा पनि जीवित राख्नु हुनेछ भन्नै मैले आशा लिएको छु ।

नेपालमा आपद्–विपद् पर्दा तथा विदेशमा रहेका नेपालीलाई समस्या परेको अवस्थामा गैरआवासीय नेपाली संघ तथा नेपाली समुदायले सदैव सहयोग गर्दै आएको छ । विक्रम संवत् २०७२ सालको विनाशकारी भूकम्पपछि राहत र पुनर्निर्माण कार्यमा गैरआवासीय नेपाली संघको योगदानको उच्च सराहना
गर्दछु । कोभिड–१९ को महामारी‚ प्राकृतिक प्रकोप एवं मानवीय संकटको घडीमा नेपाल र नेपालीका लागि सहयोगको हात अगाडि बढाउन गैरआवासीय नेपालीहरू अग्रपङ्तिमा रहिआएका छन् । मातृभूमिप्रति तपाईहरूको समर्पण एवं सद्‌भावका लागि  म पुन: एक पटक हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

विदेशमा रहेका नेपालीहरूको हकहित संरक्षणलाई मुलुकले महत्व एवं प्राथमिकता दिँदै आएको छ । यस कार्यले निरन्तरता पाउने मैले विश्वास लिएको छु । गैरआवासीय नेपालीहरूको ज्ञान, सीप, पूँजी र सञ्जाललाई मुलुकको सामाजिक–आर्थिक विकासमा उपयोग गर्ने नीति नेपाल सरकारले अवलम्बन गरेको छ ।

लामो समयसम्म नेपालको विकासको गति जनअपेक्षाअनुरुप कायम हुन नसकेको हुँदा समयले हामीलाई उछिन्दै गएको छ । प्राकृतिक स्रोत र साधनले सम्पन्न हाम्रो मुलुकले अपेक्षित गतिमा आर्थिक प्रगति हासिल गर्ने क्रममा सामना गर्नु परिरहेका चुनौति’bout तपाईंहरू जानकार हुनुहुन्छ । अध्ययन‚ व्यवसाय र रोजगारीका सन्दर्भमा विदेश गई तपाईंहरूले मेहनतपूर्वक आर्जन गर्नुभएको ज्ञान‚ सीप र धनलाई नेपालमा रोजगारी‚ पुँजी र उत्पादकत्व वृद्धिहुने क्षेत्र खोजेर लगानी गर्न मेरो आग्रह छ ।

आर्थिक विकास र लगानीको चर्चा गर्दा हामीले दिगो विकासको अवधारणालाई आत्मसात गर्नु पर्दछ । जलवायु परिवर्तनका कारण सम्पूर्ण विश्व नै संकट उन्मुख भएकोले मानव सभ्यताका सामु ठूलो चुनौति खडा भएको छ । हामीले गर्ने पूर्वाधार विकासका कार्य प्रकृतिको सन्तुलन जोगाउँदै जीवन र जगतको सुरक्षा गर्न सक्षम हुनु पर्दछ । त्यसैले‚ तपाईंहरूले रोज्ने लगानीको क्षेत्र नवीकरणीय उर्जा र हरित विकासलाई प्रवर्द्धन गर्नेतर्फ समेत केन्द्रीत हुन सक्नुपर्दछ ।

ऐन र नियमावलीमार्फत गैरआवासीय नेपालीका आर्थिक-सामाजिक अधिकार सुनिश्चित गरी कार्यान्वयनमा आएका छन् । तपाईंहरूका उचित माग र चाहनालाई मुलुकले सदैव सम्बोधन गर्नेछ भन्ने मेरो विश्वास छ । हामीलाई भूगोलले टाढा बनाएको भएता पनि आधुनिक शिक्षा‚ विज्ञान तथा प्रविधिको विकासले नजिक ल्याइरहेको छ । त्यसैले भौतिक दूरीका कारण मातृभूमिको सेवा गर्न अब कुनै अवरोध रहेको छैन ।

गैरआवासीय नेपाली संघको सञ्जाल विश्वभरि निरन्तर फैलिएको पाउँदा मलाई खुसी लागेको छ । साझा उद्देश्यका लागि नेपाली डायस्पोरालाई संगठित गर्न विश्वभर आफ्नो संगठन विस्तार गर्ने तपाईँहरूको पहलले अझ सार्थकता पाउँदै जानेछ । हामी नेपालीहरू ‘बसुधैव कुटुम्बकम्’ को भावनाअनुरूप सम्पूर्ण विश्वलाई नै मित्रताको दृष्टिले हेर्दछौँ । यस मान्यताको समेत विश्वव्यापी दूतको रूपमा रहनु भएकाले तपाईंहरू बिचको आपसी सहयोग र मित्रता नै संगठन सफलताको वास्तविक आधार हो भन्ने मलाई लाग्दछ । तसर्थ मातृमूमिको यस अपेक्षाअनुरूप अझ एकताबद्ध भई सम्वाद‚ सहयोग र सहकार्यलाई विशेष जोड दिन म तपाईंहरू सबैमा हार्दिक आह्वान गर्दछु ।

नेपाल र नेपालीको हितमा कार्य गर्ने र मुलुकको आर्थिक–सामाजिक विकासमा सहयोग पुर्‍याउने पवित्र उद्देश्य लिएर स्थापना भएको यस संस्थाको गरिमा कायम राख्दै मातृभूमिलाई व्यक्तिगत एवं संस्थागत रूपमा सक्दो योगदान गर्न यस सम्मेलनले थप प्रेरणा प्रदान गर्ने अपेक्षा लिएको छु ।

धन्यवाद ।

२०७८ चैत्र १२ गते शनिबार ।

होटल हिमालय‚ ललितपुर ।