सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले फागुपूर्णिमा (होली) पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०७८ को शुभकामना सन्देश

नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली)को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति तथा समृद्धिको कामना गर्दछु ।

वसन्त ऋतुका अनेक रङ्ग प्रतिविम्बित गर्ने पर्वका रूपमा प्रत्येक वर्ष फाल्गुण शुक्ल पूर्णिमाको दिन हिमाली, पहाडी तथा भित्री मधेशका जिल्लाहरूमा र त्यसको भोलिपल्ट तराईका जिल्लाहरूमा विभिन्न रङ तथा अबिर खेल्दै खुशियालीपूर्वक फागुपूर्णिमा (होली) मनाउने परम्परा रहेको छ ।

हाम्रा पौराणिक ग्रन्थहरूमा फागुपूर्णिमा एवं होली पर्वका अनेकौं प्रसङ्गहरू उल्लेख हुनुले यसको प्राचीनता पुष्टि हुन्छ । वैदिक परम्परादेखि नै समाजमा असल र खराब बीच द्वन्द्व चल्दै आएतापनि  सत्यको विजय नै अवश्यम्भावी हुने सार्वभौम सिद्धान्तलाई यस पर्वले प्रखर रूपमा अभिव्यक्त गर्दछ । अन्यायमाथि न्यायको, दूराचारमाथि सदाचारको र अधर्ममाथि धर्मको विजय भएको खुशियालीमा मनाइने सांस्कृतिक पर्व फागुपूर्णिमा (होली) हो । तसर्थ, समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायको पक्षमा अविचलित रूपले क्रियाशील रहन यस पर्वले प्रेरणा प्रदान गर्दछ भन्ने मलाई लाग्दछ ।

होलीमा खेलिने विविध रङ्गहरू जस्तै नेपाली समाज पनि जातीय‚ भाषिक र सांस्कृतिक रूपमा विविधतापूर्ण छ । यही विविधता बीचको एकता नै हामी नेपालीको पहिचान र सामर्थ्य बनेको छ । सम्पूर्ण नेपाली बीच आपसी  प्रेम, सद्‌भाव र सहिष्णुता अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन फागुपूर्णिमा (होली) पर्वले योगदान पुर्‍याउने विश्‍वास मैले लिएको छु ।

हाम्रो संस्कृतिका असल पक्षहरूलाई प्रवर्द्धन गर्न पर्वहरूलाई मितव्ययी र विकृतिरहित राख्नुपर्दछ । हरेक पर्वसँग गाँसिएको इतिहास, सभ्यता र पौराणिकताको गहिराई आत्मसात् गर्न सके मात्र हाम्रो अद्वितीय संस्कृतिको मौलिकता जोगाउन सकिन्छ । समाजमा विद्यमान विभिन्न प्रकारका विकृति, विसङ्गति एवम् कुरीतिहरूलाई निर्मूल गर्दै न्यायपूर्ण‚ सभ्य र सुसंस्कृत समाज निर्माण गर्न फागुपूर्णिमा अर्थात् होली पर्वबाट हामी सबैमा प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७८ चैत ३  गते बिहीबार ।