सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महेन्द्र नारायण निधि स्मृति प्रतिष्ठानद्वारा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा गर्नु भएको सम्बोधन

प्रतिष्ठानका मानार्थ अध्यक्ष तथा पूर्व उप–प्रधानमन्त्री श्री विमलेन्द्र निधि,

सङ्घीय संसदका माननीय सदस्य,

प्रतिष्ठानका पदाधिकारी एवं सदस्यहरू,

पूर्व मन्त्री,

पूर्व सांसदहरू,

आज सम्मानित हुनुभएका व्यक्तित्वहरू,

भद्रमहिला तथा सज्जनवृन्द !

नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी तथा मूर्धन्य राजनीतिज्ञ महेन्द्रनारायण निधिको स्मृतिमा स्थापित प्रतिष्ठानद्वारा आयोजित पुरस्कार वितरण तथा सम्मान कार्यक्रमको पूर्ण सफलताको कामना गर्दछु । नेपालको राजनीतिक परिवर्तनमा स्वर्गीय निधिले पुर्‍याउनुभएको योगदानको स्मरण गर्दै एकसयौँ जन्मजयन्तीको अवसरमा म उहाँप्रति श्रद्धाञ्जली अर्पण गर्दछु ।

लोकतन्त्रको प्राप्तिका लागि महेन्द्रनारायण निधिले युवा वयदेखि नै संघर्ष गर्नुभएको इतिहास छ । उहाँले आफ्नो जीवनको सम्पूर्ण समय मुलुकको स्वाधीनता, अखण्डता र लोकतन्त्रको सुदृढीकरणका लागि समर्पित गर्नुभएको थियो ।  विचार र व्यवहारका बीचमा सामन्जस्यता कायम गर्दै निरन्तर देश र जनताको पक्षमा क्रियाशील स्वर्गीय निधिबाट अहिलेको राजनीतिक नेतृत्वले प्रेरणा लिन सक्नुपर्दछ । उहाँले अँगाल्नुभएको निष्ठाको राजनीति सबैका लागि मार्गदर्शक बन्नु पर्दछ ।

लोकतन्त्रलाई जीवन पद्धति बनाउँदै त्यस अनुरूपको संस्कृति निर्माण गर्न स्वर्गीय निधिको जीवनबाट हामीले सधैँ प्रेरणा लिन सक्दछौँ । प्रजातन्त्र प्राप्तिका निम्ति अहिंसात्मक आन्दोलन तथा शान्ति प्रवद्र्धनका लागि संवाद नै एकमात्र माध्यम हो भन्नेमा निधि दृढ हुनुहुन्थ्यो । उहाँ सधैँ सत्य, न्याय र समानताको पक्षमा उभिनु  भयो । फलस्वरूप उहाँसमेतले नेतृत्व गर्नुभएको नेपालको लोकतान्त्रिक आन्दोलनले मूलतः शान्तिपूर्ण आन्दोलनको माध्यमबाटै विजय प्राप्त गरेको हो ।

महेन्द्रनारायण निधिले आफ्नो राजनीतिक अभियानमा संकीर्ण स्वार्थलाई प्रश्रय नदिई राष्ट्र र राष्ट्रियताको मुद्दालाई सर्वोपरी स्थान दिनु भयो । यो विषय आज पनि हाम्रो राष्ट्रिय एकता र सामाजिक सद्भाव प्रवद्र्धन गर्नका लागि अति आवश्यक छ ।

ठूलो राजनीतिक परिवर्तनपश्चात् मुलुक आर्थिक तथा सामाजिक विकास हासिल गरी  ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा प्राप्त गर्ने अभियानमा अग्रसर बनिरहेको छ । संविधानले परिकल्पना गरेको समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्न सकेको अवस्थामा नै समुन्नत नेपाल बनाउन सकिन्छ । यस परिप्रेक्ष्यमा स्वर्गीय निधिजस्ता राजनेताहरूको योगदानलाई स्मरण गर्दै निर्धारित लक्ष्यतर्फ अग्रसर हुनुपर्ने खाँचो रहेको छ ।

प्रतिष्ठानले अहिंसासम्बन्धी विभिन्न सिर्जनात्मक कृयाकलापहरू सञ्चालन गरी समुदायमा चेतना तथा जागरण फैलाउने कामलाई समेत निरन्तरता दिएकाले त्यसबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन सघाउ पुग्ने मैले ठानेको छु । प्रतिष्ठान आगामी दिनमा विभिन्न कुरीति र विभेदको अन्त्य गर्न र समाजमा शिक्षा, स्वास्थ्यजस्ता विकासका आधारभूत क्षेत्रमा सकारात्मक योगदान गर्न सफल रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछु । प्रतिष्ठानले स्वर्गीय निधिका योगदानहरूलाई चीरस्थायी राख्न प्रकाशन र प्रचार–प्रसारको महत्वपूर्ण जिम्मेवारीलाई समेत कुशलतापूर्वक अगाडि बढाउनु खुसीको विषय हो ।

एकदशक अघिदेखि प्रतिष्ठानले लोकतान्त्रिक आन्दोलन, सामुदायिक सद्भाव र सामाजिक आर्थिक रूपान्तरणको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने व्यक्तित्वहरूलाई महेन्द्रनारायण निधि र प्रेमसागरीदेवी निधि राष्ट्रिय पुरस्कार तथा सम्मान प्रदान गर्दै आएको छ ।

यस पटक महेन्द्रनारायण निधि राष्ट्रिय पुरस्कार प्राप्त गर्नुहुने श्री राजेन्द्र खरेल र श्री पूर्णानन्द शर्मा दाहालका साथै प्रेमसागरीदेवी राष्ट्रिय पुरस्कारबाट सम्मानित हुनुहुने सुवर्ण ज्वारचन् र सरस्वती चौधरीलाई हार्दिक बधाई दिन चाहन्छु ।

अन्तमा, आज पुरस्कृत एवं सम्मानित हुनुहुने सबैलाई भविष्यमा समेत सामाजिक कार्यमा क्रियाशील हुन प्रेरणा मिल्ने अपेक्षासहित स्वर्गीय महेन्द्र नारायण निधिको निष्ठापूर्ण जीवन आर्दशको अनुसरण गर्ने भावना सबैमा जागृत रहोस् भन्दै प्रतिष्ठानको सफलताको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७८ साल फागुन १३ गते शुक्रबार ।

राष्ट्रपति भवन, महाराजगञ्ज, काठमाडौँ ।