सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को शुभकामना सन्देश

राष्ट्रिय प्रजातन्त्र दिवस, २०७८ को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु । प्रजातन्त्र स्थापनाका लागि भएका अनेकौं संघर्षमा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

जहानियाँ निरङ्कुश शासनविरुद्ध बलिदानीपूर्ण संघर्षको परिणामस्वरूप वि.सं. २००७ सालको आन्दोलन सफल भएर आधारभूत मानवअधिकारको बहाली गराई नेपाली जनताले राजनीतिक स्वतन्त्रता हासिल गरेको ऐतिहासिक उपलब्धिको सम्झना र सम्मान स्वरूप प्रत्येक वर्ष फागुन ७ गते हामी प्रजातन्त्र दिवस मनाउँछौं । त्यसपछिको सात दशकभन्दा लामो उतारचढावपूर्ण यात्रामा नेपाली जनताको निरन्तर संघर्षकै प्रतिफलस्वरूप आज हामी लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न सफल भएका छौँ ।

हामीले सधैं स्मरण गर्नुपर्दछ- प्रजातन्त्र वा लोकतन्त्र जुनसुकै नाम दिएपनि जनतामा आधारित शासन प्रणालीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन सक्नु पर्दछ । हाम्रो संविधानले अवलम्बन गरेको राजनीतिक व्यवस्थाले जनतालाई नै राज्य शक्तिको सम्पूर्ण स्रोत मान्दछ । तसर्थ सामाजिक न्याय, समानता र समृद्धिका माध्यमबाट जनतालाई वास्तविक परिवर्तनको अनुभूति गराउँदै हाम्रो लोकतान्त्रिक गणतन्त्रलाई जनताको जीवनसँग जोड्नु परेको छ । लोकतान्त्रिक प्रणालीले मात्र नागरिकलाई एकताको मालामा गाँसेर बलियो राष्ट्र निर्माण गर्न सक्दछ ।

लोकतन्त्र सार्थक बनाउन तदनुकूलको राजनीतिक व्यवस्था केवल साधन मात्र हो, साध्य होइन । राजनीतिक प्रणालीले तयार गरेको जगमा उभिएर राष्ट्रिय जीवनका हरेक पक्षले उच्च लोकतान्त्रिक आचरण, पारस्परिक विश्वास र सहयोगी भावना अभिवृद्धि गर्नु अत्यन्त आवश्यक छ । जनताको जागरुकताले मात्र लोकतन्त्र निरन्तर विकसित हुँदै जान्छ । र,  अन्ततोगत्वा लोकतन्त्र हाम्रो जीवन पद्धति बन्न सक्दछ  ।

प्रजातन्त्र दिवसको यस अवसरले  ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा राष्ट्रिय आकांक्षा पूरा गर्न सबै जनप्रतिनिधिमूलक संस्था, राजनीतिक दल तथा राज्यका सबै अङ्गलाई संवैधानिक मूल्य एवम् मान्यताहरू कार्यान्वयन गर्न अभिप्रेरित गर्ने अपेक्षा गर्दछु । नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय हित, स्वाभिमान र लोकतन्त्रको रक्षार्थ भएका विभिन्न आन्दोलनहरूमा योगदान गर्नुहुने सबैप्रति सम्मान प्रकट गर्दै  प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धि हासिल गर्न सबैमा नयाँ उत्साह प्रदान गर्न सकोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७८ फागुन ७ गते शनिबार ।