सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश

माघे संक्रान्ति एवम् माघी पर्वको शुभकामना सन्देश 

नेपालका विभिन्न समुदायमा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

माघे संक्रान्ति वा मकर संक्रान्ति पर्वलाई नेपालका विभिन्न जातजातिले हर्षोल्लास पूर्वक मनाउने परम्परा रही आएको छ । थारू समुदायमा माघी पर्वलाई नयाँ वर्षका रूपमा धुमधामसँग मनाइन्छ । मगर समुदायमा यस दिन तीरको निशाना लगाउने खेल प्रचलनमा छ । पवित्र नदी एवम् त्रिवेणीहरूमा स्नानपश्चात् पूजा अर्चना तथा घिउ, चाकु, तरुल, सेलरोटी, तिलको लड्डु, ढिक्री र खिचडी जस्ता खाद्य परिकार सेवन गर्ने परम्परा रहेको छ । विविधतापूर्ण नेपाली समाजलाई वृहत् राष्ट्रिय एकताको भावनामा आवद्ध गर्न यस पर्वले योगदान गरिरहेको छ ।

प्राचीन समयदेखि हस्तान्तरण भइ आएका सांस्कृतिक वैशिष्ट्य बोक्ने चाड पर्वहरूले हाम्रो सामाजिक जीवनलाई उल्लासमय तुल्याएका छन् । यसबाट हाम्रो राष्ट्रको मौलिक परिचय विश्वसामु स्थापित हुनुका साथै समुदायहरूबीच सहिष्णुता र हार्दिकता अभिवृद्धि भैरहेको छ । हाम्रा पर्वहरूले मुलुकको सांस्कृतिक र जातीय विविधतालाई आपसमा जोडेर साझा नेपाली पहिचान निर्माण गर्न उल्लेख्य योगदान पुर्‍याएका छन् ।

सूर्य उत्तरायण हुने प्रक्रियासँग सम्बन्धित हुनाले माघी अर्थात् माघे संक्रान्ति पर्वले नेपाली जनजीवन र प्रकृतिको निकटतालाई दर्शाउँछ । हाम्रा धेरै पर्वहरू यसै गरी प्रकृतिसँग अन्योन्याश्रित रूपले जोडिएका छन् । नेपाली समाज प्रकृति र संस्कृतिको सुन्दर संगम भएको हुनाले हाम्रा व्यवहारहरू पनि प्रकृतिमैत्री र वातावरण संरक्षणउन्मुख हुनुपर्दछ भन्ने अन्तर्निहित सन्देशलाई हामीले आत्मसात् गर्नुपर्दछ  ।

अन्त्यमा, माघे संक्रान्ति एवं माघी पर्वको पुनः शुभकामना व्यक्त गर्दै, कोभिड– १९ महामारीको वर्तमान अवस्थामा स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आ–आफ्नो स्वास्थ्यको ख्याल गरी यो चाड मनाउन सबैमा आव्हान गर्दछु ।

धन्यवाद ।

२०७८ माघ १ गते शनिबार ।