सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विवाह पञ्चमीको अवसरमा दिनु भएको शुभकामना सन्देश

विवाह पञ्चमीको शुभकामना सन्देश

त्रेता युगमा मार्ग शुक्ल पञ्चमी तिथिका दिन अयोध्याका राजकुमार राम र मिथिलाका राजा जनककी पुत्री सीताको शुभ विवाह सम्पन्न भएको विशेष दिनको सम्झनामा मनाइने विवाह पञ्चमीको अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

प्राचीन मिथिलाको राजधानी रहेको जनकपुरधाममा साताव्यापी रूपमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत वैवाहिक कार्यक्रमलाई मुख्य आकर्षणको केन्द्र मानिन्छ । यस दिन विवाह उत्सवमा बाजागाजासहित झाँकी प्रस्तुत हुने तथा जन्ती र डोला हेरिने परम्परा रहेको छ । प्राचीनकालदेखि नै मिथिला क्षेत्रमा मनाइने विवाह पञ्चमी पर्वको सांस्कृतिक एवम् ऐतिहासिक महत्त्व रहेको छ ।

यस प्राचीन सांस्कृतिक पर्व विवाह पञ्चमीले मौलिक संस्कृतिको संरक्षण एवम् संवर्द्धन गर्दै भौगोलिक तथा सांस्कृतिक विविधतायुक्त नेपाली समाजमा आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउन सहयोग पुर्‍याउने विश्‍वास लिएको छु ।

अन्तमा, यस महान् पर्वले सम्पूर्ण नेपालीहरूमा बृहत् राष्ट्रिय एकताको भावनालाई थप सुदृढ बनाउँदै समतामूलक‚ सभ्य र सुसंस्कृत समाजको निर्माणका लागि अग्रसर हुन हामी सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७८ मङ्सिर २२ गते बुधबार ।