सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट सामुदायिक वन उपभोक्ता महासंघद्वारा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने राष्ट्रिय अभियानसम्बन्धी कार्यक्रममा गर्नुभएको सम्बोधन

नेपाल नगरपालिका संघका अध्यक्ष,

अधिकार र स्रोत पहलका अध्यक्ष सोलान्ज बान्दिके,

सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष लगायत महासंघ परिवार,

भद्रमहिला तथा सज्जनवृन्द !

देशभरि छरिएका हजारौं सामुदायिक वन उपभोक्ता समूहहरूको प्रतिनिधिमुलक संगठनका रूपमा रहेको सामुदायिक वन उपभोक्ता महासंघले लैङ्गिक हिंसा विरूद्धको सोह्र दिने अभियान अन्तर्गत विभिन्न चेतनामूलक सामाजिक कार्यक्रमहरू सञ्चालन गरेकोमा मलाई खुसी लागेको छ ।

अभियानमा सक्रिय रूपले सहभागी भई लैङ्गिक समानतायुक्त सभ्य समाज निर्माण गर्ने कार्यमा सफलता मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । साथै, यस अभियानमा आ—आफ्नो क्षेत्रबाट सक्दो योगदान गर्न संघीय सरकार, प्रदेश सरकार र स्थानीय तहसहित सम्पूर्ण सामाजिक संघसंस्थाहरूलाई आव्हान गर्दछु ।

महासंघमा आवद्ध उपभोक्ता समूहहरूको उपस्थिति र विस्तारको आँकडाका आधारमा ठूलो जनसंख्यासम्म एकैपटक पुग्ने सामथ्र्य यस सामुदायिक वन उपभोक्ता महासंघसँग भएकाले यस संगठनमार्फत आमजनताको जीवनमा परिवर्तन ल्याउन मद्दत पु¥याउने यस्ता अभियानहरू प्रभावकारी हुन सक्दछन् भन्ने मलाई लागेको छ । यसै भावनाबाट अनुप्राणित भई एकातिर वन जंगलको संरक्षणद्वारा प्रकृतिलाई जोगाउने कार्य महासंघले गरिरहेको छ भने अर्कोतिर महिला हिंसा उन्मुलन गर्ने लगायतका विविध जनचेतनामूलक कार्यक्रमहरू पनि सञ्चालन गरिरहेको छ ।

वनमा आश्रित विपन्न जनता, ग्रामिण महिला, आदिवासी एवं सीमान्तकृत समुदायलाई सशक्तीकरण गर्न यस महासंघले खेल्दै आएको भूमिका प्रशंसनीय छ । नेपालमा अवलम्बन गरिएको सामुदायिक वन व्यवस्थापनको विधिलाई विश्वमै सफल उदाहरण मानिनुको एउटा प्रमुख कारण यो पनि हो भन्ने मलाई लाग्दछ । वन व्यवस्थापनका माध्यमबाट जनताको जीविकोपार्जनमा सुधारका साथै वातावरण र जैविक विविधताको संरक्षण, जलबायु अनुकूलन र न्यूनीकरण, सामुदायिक विकास तथा आर्थिक समृद्धिका लागि महत्वपूर्ण योगदान पुग्न सक्दछ  ।

वन उपभोक्ता महासंघका क्रियाकलाप तथा अभियानहरूले प्रकृतिलाई बिगारेर होइन सिँगारेर मुलुकको विकास गर्नुपर्छ भन्ने भावना नीति निर्माणका सबै तहमा गहिरोसँग स्थापित गर्न पनि सहयोग पुग्दछ । ढुङ्गालाई माटोको र माटोलाई ढुङ्गाको भर हुन्छ भनिएजस्तै मानव र प्रकृति एक अर्कासँग अभिन्न रूपले जोडिएका छन् । त्यसैले हाम्रो अस्तित्व पर्यावरण सन्तुलनसँग गाँसिएको छ । यसलाई गहिरोसँग आत्मसात गर्दै जलवायु परिवर्तनले ल्याउने चुनौतीहरूको सामना गर्न समुदायस्तरदेखि नै गरिने प्रयासमा सामुदायिक वन उपभोक्ता महासंघ जस्ता संगठनहरूको  महत्वपूर्ण भूमिका रहन्छ ।

समाजमा शिक्षा र चेतना विस्तार हुँदै जाँदा महिलाको सामाजिक–आर्थिक अवस्था क्रमशः सुधारोन्मुख रहेको भए तापनि लैङ्गिक हिंसा विभिन्न रूपले अस्तित्वमा रहिरहनु चिन्ताको विषय हो । एकातिर छाउपडी, बोक्सी, तिलक, दाइजोजस्ता कुप्रथाहरू हामीले पूर्ण रूपमा निर्मूल गर्न अझै संघर्ष गर्नुपरिरहेको छ भने अर्कोतिर कार्यस्थल तथा सार्वजनिक क्षेत्रमा हुने दुव्र्यवहार एवं प्रविधिका माध्यमबाट महिला विरुद्ध हुने हिंसा तथा शोषणका नयाँ स्वरूपहरू प्रकट भैरहेका छन् । यसका साथै महिलाहरू बाल विवाह, बहु विवाह, एसिड आक्रमण र बतात्कारजस्ता जघन्य अपराधबाट पीडित बन्नु परिरहेको अवस्था विद्यमान छ । यी विकृतिको अन्त्य गर्न नीति र कानुनको निर्माण एवं तिनको प्रभावकारी कार्यान्वयन आवश्यक रहेकोतर्फ म सम्बद्ध निकायको ध्यानाकर्षण गर्दछु ।

एउटा जोड दिनुपर्ने विषय के छ भने समाजबाट लैङ्गिक हिंसा उन्मुलन गर्न पुरुष र महिला दुबैको उत्तिकै सक्रियता आवश्यक पर्दछ । यस मान्यतालाई सबै क्षेत्रबाट गहिरोसँग आत्मसात गर्दै र गराउँदै अगाडि बढ्न सक्दा नै हामी सभ्य समाज निर्माण गर्ने महायात्राको गन्तव्यमा पुग्न सक्दछौं ।

महिला हिंसा अन्त्यको लागि नेपाल सरकारले तर्जुमा गरेको नीति तथा कार्यक्रमलाई स्थानीय समुदायको तहमा पुर्‍याउने र समुदाय स्तरका छलफलबाट प्राप्त सुझावहरूलाई नीतिगत तहमा ल्याउनका लागि सबैको सार्थक प्रयास आवश्यक पर्दछ ।

अन्तमा, सामुदायिक वनका माध्यमबाट महिला सशक्तीकरण र लैंगिक हिंसा अन्त्यका लागि हुँदै आएका सफलता र असल अभ्यासहरूको व्यापक प्रचार प्रसार गरी प्राकृतिक स्रोत व्यवस्थापनका अन्य क्षेत्रमा समेत विस्तार गर्न यस वर्षको महिला हिंसा विरुद्धको अभियानले थप प्रेरणा प्राप्त हुने विश्वास सहित उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

धन्यवाद !

२०७८ साल मंसिर १९ गते आइतबार ।