सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, २०७८ को शुभकामना सन्देश

महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवस (नोभेम्बर २५) तथा लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान, २०७८ को अवसरमा विश्‍वभरका सम्पूर्ण दिदीबहिनीहरूको सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

महिलाविरूद्ध हुने हिंसा निर्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको सन्दर्भमा प्रत्येक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विश्‍वभर सञ्चालन गरिने ‘लैङ्गिक हिंसा विरूद्धको १६ दिने अभियान’ आजबाट सुरू भएको छ । यस अभियानलाई नेपालमा पनि ‘घरैबाट सुरू गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने राष्ट्रिय संकल्पका साथ विभिन्न कार्यक्रमहरू आयोजना गरी सञ्चालन गरिँदैछ ।

नेपालको संविधानले समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक, समृद्ध र न्यायपूर्ण समाजको निर्माण गर्ने संकल्प गरेको छ । परिवर्तित सन्दर्भमा जननिर्वाचित संस्थाहरूमा महिलाहरूको उल्लेख्य सहभागिता सहित राजनीतिमा महिलाको सशक्तीकरणले तीव्रता पाएको छ । यद्यपि कानुनले निषेध गरेका बोक्सी, छाउपडी, दाइजो, तिलक‚ छुवाछुत जस्ता महिलाद्वेषी प्रथा‚ परम्परा र अन्धविश्‍वासका कारण धेरै महिला दिदीबहिनीहरू अझै पनि हिंसा, विभेद र अपमानजन्य पीडा खप्न बाध्य छन् ।

समाजमा विद्यमान यस प्रकारका विकृति र विसंगतिका विरुद्ध परिवार र समुदाय स्तरमा व्यापक रूपमा सचेतना अभियान सञ्चालन गर्नु पर्दछ । महिलाविरुद्ध हुने सबै प्रकारका हिंसा अन्त्यको लागि कानुनमा उल्लिखित दण्ड र सजायको प्रभावकारी कार्यान्वयन गरिनु पर्दछ । यसका साथै महिलाहरूलाई आर्थिक रूपले आत्मनिर्भर बनाउँदै महिला र पुरूषमा भएको असमान शक्ति संरचनामा परिवर्तन गर्नसके मात्र महिलाविरुद्ध हुने हिंसा कम गर्न सकिन्छ भन्ने मलाई लाग्दछ । यस अवसरमा‚ लैङ्‌गिक हिंसा अन्त्यको लागि क्रियाशील सरकारी निकाय‚ सामाजिक संघ–संस्था‚ नागरिक समाज तथा महिला अधिकारकर्मीहरूलाई यस दिवसले थप उत्साहका साथ काम गर्न प्रेरणा प्रदान गर्नेछ भन्ने विश्‍वास लिएको छु ।

अन्तमा‚ आजको यस महत्त्वपूर्ण अवसरमा लैङ्गिक हिंसाविरूद्ध ऐक्यवद्धता सहितको साझा प्रतिबद्धता जनाउँदै समानतामा आधारित, न्यायपूर्ण, सभ्य र समुन्नत समाजको निर्माण गर्नेतर्फ अग्रसर हुन सबैमा हार्दिक आह्वान गर्दछु ।

धन्यवाद ।

२०७८ साल, मङ्सिर ९ गते‚ बिहीबार ।