सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले जितीया पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

जितीया पर्व, २०७८ को शुभकामना सन्देश

जितीया पर्व, २०७८ को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका जितीया पर्व मनाउनु हुने सम्पूर्ण नेपाली दिदीबहिनीहरूमा सुख, शान्ति, सुस्वास्थ्य एवं दीर्घायुको लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

नेपालको तराई क्षेत्रमा बसोवास गर्ने मधेशी तथा थारु समुदायका महिलाहरूले जितीयालाई आफ्नो सन्तानको सुख र समृद्धिका निमित्त मनाइने एउटा महत्त्वपूर्ण चाडका रूपमा लिइन्छ । प्रत्येक वर्ष आश्विन कृष्ण पक्षको अष्टमी तिथिको दिन मधेशी तथा थारु महिलाहरूले सन्तानको सुख‚ शान्ति‚ आरोग्य र चिरायुको कामना गर्दै निराहार कठोर व्रत बसी लोक देवता जिमुतवाहनको कथा सुन्ने एवं नाचगान गरी रमाइलोसँग मनाउने परम्परा रहेको छ ।

भौगोलिक‚ सामाजिक र सांस्कृतिक विविधतायुक्त हाम्रो मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास लिएको छु ।

हाम्रो मौलिक सांस्कृतिक सम्पदाको रूपमा रहेका यस्ता चाड पर्वहरू मनाउने सन्दर्भमा परम्पराका नाममा प्रचलित कतिपय अव्यवहारिक पक्षहरूलाई समयानुकूल सुधार समेत गर्दै जानु पर्दछ भन्ने मलाई लागेको छ ।

अन्तमा‚ यस पर्वले समाजमा विद्यमान अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य‚ सुसंस्कृत  एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७८ असोज १३ गते बुधबार ।