सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट उपत्यकाका ब्राह्मण राजोपाध्यायहरूद्वारा श्रावणीकर्ममा स्थापना गरिएको  राजकलशको अभिषेक ग्रहण

भाद्र ६ गते‚ काठमाडौँ ।

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले राष्ट्रपति भवन‚ महाराजगञ्जमा आज काठमाडौँ उपत्यकाका ब्राह्मण राजोपाध्यायहरूको कान्तिपुरीय उपाकर्म गुठीद्वारा श्रावणीकर्ममा स्थापना गरिएको  राजकलशको अभिषेक ग्रहण गर्नुभयो ।

श्रावण पूर्णिमाका दिन उपाकर्म गुठीका गुठियारहरूद्वारा शोभाभगवतीको विष्णुमती तथा भद्रमतीको दोभानमा विधिपूर्वक श्रावणी स्नान गरी नव यज्ञोपवित धारण गर्दछन् । त्यसपछि अरुन्धती सहित सप्तर्षिको पूजाका साथै राजकलश स्थापना गरी श्रावणी यज्ञ गरिने परम्परा रहेको छ । देवतर्पण‚ ऋषितर्पण र पितृतर्पणका साथै विधिपूर्वक दिवंगत पितृगणहरूमा फलपिण्ड दान गरी श्राद्ध गरिनुका साथै सप्तर्षिको प्रसादस्वरूप कुलका थकालीका हातबाट रक्षाबन्धन (डोरो) बाँध्ने गरिन्छ ।

यसरी श्रावणीकर्म सम्पन्न भएपछि विधिपूर्वक स्थापना गरिएको राजकलश राष्ट्राध्यक्षलाई अभिषेक तथा रक्षा बन्धन गर्ने परम्परा रहेको छ । राष्ट्राध्यक्षबाट दक्षिणास्वरूप एघार चाँदीका मोहर दिने गरिन्छ । मुलुकमा गणतन्त्रको स्थापनापछि राजकलश राजदरबारमा पुर्‍याउने परम्परा केही वर्ष टुटेको भएतापनि गत केही वर्षयता राष्ट्राध्यक्षको रूपमा सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट अभिषेक ग्रहण गर्दै आउनु भएको छ ।