सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय बाघ दिवस, २०७८ को अवसरमा दिनु भएको शुभकामना सन्देश

आज जुलाई २९ तारिखलाई विश्व बाघ दिवसका रूपमा “बाघको अस्तित्वः मानवको दायित्व” भन्ने मूल संकल्पका साथ विश्वभरि मनाइँदै छ । नेपालमा पनि हामीले केन्द्रीय र स्थानीय स्तरमा विभिन्न कार्यक्रमहरूको आयोजना गरी विश्व बाघ दिवस मनाउँदैछौं । यस अवसरमा प्रकृतिको सुन्दर प्राणी बाघको संरक्षणका लागि सम्बद्ध सबैलाई थप प्रेरणा मिलोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु ।

पृथ्वीमा बाघको अस्तित्वमाथि नै सङ्कट आइसकेको अवस्थामा यसको पुनर्उत्थान गर्न ठूलो चुनौती खडा भएको छ । यसै यथार्थलाई ध्यानमा राख्दै सन् २०१० मा रुसको सेन्ट पिटर्सवर्गमा आयोजित बाघ पाइने १३ राष्ट्रका सरकार प्रमुखको सहभागितामा सम्पन्न विश्व बाघ सम्मेलनको अवसरमा बाघ संरक्षणका लागि विभिन्न मुलुकले आ–आफ्नो प्रतिबद्धता जनाएका थिए । यस सन्दर्भमा नेपालले पनि सन् २०१० लाई आधार वर्ष मानी सन् २०२२ सम्म बाघको संख्या १२१ बाट दोब्बर बढाई २५० पुर्‍याउने लक्ष्य राखेकोमा हाल यो संख्या २३५ पुगिसकेको थाहा पाउँदा मलाई खुसी लागेको छ । बाँकी समयावधिमा तोकिएको लक्ष्य पूर्ण रूपमा हासिल हुने कुरामा म विश्वस्त छु ।

नेपालले बाघ संरक्षणमा उल्लेखनीय नतिजा हासिल गरी विश्वसामु विशेष सन्देश दिन सफल भएको
छ । नेपालमा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण क्षेत्र ऐन, २०२९ बमोजिम राष्ट्रिय निकुञ्जको घोषणा गरी बाघको बासस्थान व्यवस्थापन, बाघको चोरी सिकारी एवं गैरकानुनी व्यापार नियन्त्रणमा नेपाली सेना लगायतका सुरक्षा निकायहरूको संरक्षणमा मध्यवर्ती क्षेत्रका स्थानीय बासिन्दाको सहभागिता र विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाहरूको निरन्तर सहकार्यबाट यस्तो सकारात्मक परिणाम प्राप्त गर्न सम्भव भएको हो ।

जलवायु परिवर्तनले पारिरहेको नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न जैविक विविधताको संरक्षण गर्दै स्वच्छ र स्वस्थ पारिस्थितिकीय प्रणालीमा समेत सकारात्मक प्रभाव पार्ने बाघको संरक्षण गर्नु अत्यावश्यक रहेको छ । यस प्रजातिको संरक्षण र बासस्थानको व्यवस्थापनमा नै मानव जातिको सह–अस्तित्व कायम रहेको छ भन्ने तथ्यलाई हामीले कहिल्यै पनि बिर्सनु हुँदैन । तर जानेर वा नजानेर मानवीय गतिविधिले गर्दा बाघको बासस्थानमा सङ्कुचन आएको छ  र संरक्षणको दृष्टिकोणले बाघ लोपोन्मुख अवस्थामा पुगेको छ । प्रकृति संरक्षणमा विशिष्टीकृत योगदान पुर्‍याउने यस प्रजातिलाई लोप हुनबाट रोक्न हामी मानव मात्रको साझा कर्तव्य भएको हुँदा बाघको संरक्षण कार्यमा लाग्न सम्बद्ध सबैलाई आव्हान गर्दछु ।

बढ्दो जनसंख्याको कारण बाघ र मानव बीच द्वन्द्वका घटनाहरू पनि बढिरहेका छन् । यसबाट हुने क्षतिको न्यूनीकरण गर्न यथोचित पहल गरी बाघ संरक्षणप्रति स्थानीय जनताको भूमिकालाई बढावा दिन अति आवश्यक छ । यसले बाघको दिगो संरक्षणलाई सुनिश्चितता प्रदान गर्दछ ।

अन्तमा, बाघको महत्त्व’bout जनस्तरसम्म सचेतना जगाई यसको संरक्षणबाट प्राप्त हुनसक्ने फाइदा र अवसरहरूमा स्थानीय बासिन्दाको पहुँच बढाउने कार्यमा निरन्तर लाग्न सरोकारवालालाई आजको विश्व बाघ दिवसले उत्प्रेरणा प्रदान गरोस् भन्ने हार्दिक शुभकामना व्यक्त गर्दछु ।

२०७८ साल साउन १४ गते बिहीबार