सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले इद उल अज्हा (बकर इद) पर्व, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

इद उल अज्हा (बकर इद) पर्व, २०७८ को शुभकामना सन्देश

मुस्लिम समुदायको महान् पर्व इद उल अज्हा (बकर इद) को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली मुसलमान दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि तथा दीर्घायुका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

मुस्लिम समुदायको ठूलो चाडको रूपमा रहेको इद उल अज्हा (बकर इद) आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्‍भाव तथा शुभकामना आदान प्रदान गरी मनाउने गरिन्छ । यस्ता चाडपर्वका माध्यमबाट विभिन्न जातजाति तथा समुदायको मौलिक संस्कृति र परम्पराको संरक्षण एवं संवर्द्धन हुनुका साथै जातीय, धार्मिक एवं सांस्कृतिक विविधताबीच आपसी सद्‌भाव, सहिष्णुता र मेलमिलाप अभिवृद्धि हुन्छ । भौगोलिक, जातीय र सांस्कृतिक विविधता नेपाली समाजको मौलिक पहिचान हो । हाम्रो विविधता भित्रको सुदृढ एकताले नै राष्ट्रिय भावनालाई अझ बलियो बनाउन योगदान गर्दछ भन्ने मैले विश्वास लिएको छु ।

विश्‍वव्यापी महामारी कोभिड-१९ को सङ्क्रमण हाम्रो देशमा पनि अझै कायम रहेकाले यसबाट जोगिन जनस्वास्थ्यका मापदण्डहरूका साथै निषेधाज्ञाका नियमहरूको पालना गर्दै सावधानीका साथ यो पर्व मनाउनु हुनेछ भन्ने विश्‍वास लिएको छु ।

अन्तमा, यस पर्वले सबै नेपाली बीच आपसी सद्‍भाव र सहिष्णुता अभिवृद्धि गर्दै सभ्य, सुसंस्कृत र प्रगतिशील समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना प्रकट गर्दछु ।

धन्यवाद ।

२०७८ साउन ६ गते बुधबार ।