सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले विश्व वातावरण दिवस, (जुन ५) २०२१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

विश्व वातावरण दिवस,  (जुन ५) २०२१  को शुभकामना सन्देश

विश्व वातावरण दिवस (जुन ५) २०२१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

संयुक्त राष्ट्र संघले आव्हान गरे बमोजिम प्रत्येक वर्ष जुन ५ लाई विश्व वातावरण दिवसका रूपमा सन् १९७४ देखि मनाउन थालिएको हो । यस वर्ष हामी पारिस्थितिकीय प्रणाली पुनर्स्थापनाको विषयमा केन्द्रित हुँदै “नयाँ सोच र सिर्जनाका साथ प्राकृतिक प्रणालीको पुनर्स्थापना” को लागि विश्‍व वातावरण दिवस मनाउन लागिरहेका छौं । आजको दिनलाई हामी सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा जल¸ वायु¸ जमिन र जङ्गलसँग वनस्पति¸ जीवजन्तु र मानवको आपसी सम्बन्धलाई जीवन्त बनाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनको लागि प्रण गर्ने दिनको रूपमा मैले लिएको छु ।

विश्‍वमा भइरहेको वातावरण विनाशको लागि हाम्रो भूमिका नगन्य भएता पनि वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले विभिन्न अन्तर्राष्ट्रिय मञ्चहरूमा राखेका विषयहरू र गरेका प्रतिबद्धताहरूलाई कार्यान्वयन गर्नको लागि आजको दिनले थप उत्प्रेरणा दिनेछ भन्ने विश्‍वास लिएको छु ।

मानिसले गरेका प्राकृतिक स्रोतहरूको अधिक दोहनका कारण हामी वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएको छ । त्यसलाई पुनर्स्थापित गर्न प्रकृतिमुखी जीवनशैली अपनाउदै वातावरण सुधारका गतिविधिहरू प्रवर्द्धन गर्न म सबैमा हार्दिक आह्वान गर्दछु ।

प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न हाम्रो मुलुकमा पूर्वाधारको विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्नमा सहयोग पुग्ने विश्‍वास लिएको छु ।

यस समयमा विश्‍वव्यापी महामारी कोभिड-१९ को सङ्क्रमण तीव्र बनेकाले यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । तसर्थ विश्‍व वातावरण दिवस मनाउने सन्दर्भमा गरिने सामुदायिक सरसफाई¸ वृक्षारोपण लगायतका सृजनात्मक कृयाकलापहरूमा जनस्वास्थ्यका मापदण्डहरूप्रति सजग र सुरक्षित भई सहभागी हुन म सबैलाई हार्दिक आव्हान गर्दछु ।

अन्तमा, वातावरणको संरक्षण तथा संवर्द्धनको गहन अभिभारा पूरा गर्ने काममा संलग्न वन तथा वातावरण मन्त्रालय, अन्य पूर्वाधार विकास गर्ने मन्त्रालयहरू, प्रदेश तथा स्थानीय निकायहरू, सुरक्षा निकाय, स्थानीय समुदाय, विकास साझेदार एवं सबैलाई  धन्यवाद दिंदै वातावरण संरक्षणको साझा लक्ष्यमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने शुभकामना दिन चाहन्छु ।

धन्यवाद ।

२०७८ जेठ २२ गते शनिबार ।