सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले तेस्रो राष्ट्रिय महिला अधिकार दिवस, २०७८ को अवसरमा दिनुभएको शुभकामना सन्देश

तेस्रो राष्ट्रिय महिला अधिकार दिवस, २०७८ को शुभकामना सन्देश

“महिलाको  सुरक्षा र अधिकार: संकटकालीन व्यवस्थापन हाम्रो सरोकार” भन्ने नाराका साथ मनाउन लागिएको तेस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसरमा देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइप्रति सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु । यस अवसरमा महिलाको हक अधिकार सुनिश्चित गर्न विभिन्न ढङ्गले योगदान गर्नुहुने सम्पूर्ण अग्रजहरूलाई स्मरण गर्दै धन्यवाद दिन चाहन्छु ।

२०६३ साल जेठ १६ गतेका दिन तत्कालीन पुनर्स्थापित प्रतिनिधिसभाले महिलाका  अधिकारसम्बन्धी महत्त्वपूर्ण ४ वटा ‘विशेष प्रस्ताव’ पारित गरेको थियो । नेपाली महिलाको अधिकारलाई कानुनी संरचनाद्वारा सुनिश्‍चित गर्ने आधार संसदबाट निर्माण गरिएको सोही दिनको स्मरण स्वरूप जेठ १६ गतेलाई राष्ट्रिय महिला अधिकार दिवसका रूपमा मनाउन थालिएकोमा मलाई खुसी लागेको छ । लैङ्गिक समानता तथा महिला अधिकार सुनिश्चित गर्न लामो समयदेखि भएका धेरै संघर्षहरूलाई यस राष्ट्रिय दिवसले सम्मान र पहिचान प्रदान गरेको छ ।

यसै ‘विशेष प्रस्ताव’ लाई आधार मानेर महिलाको हक अधिकार सुनिश्‍चित गर्न संवैधानिक, कानुनी र संरचनागत व्यवस्थाहरू गरिए र तिनको कार्यान्वयन हुने क्रममा राज्यका निकाय तथा सार्वजनिक क्षेत्रमा महिलाको सहभागितामा उल्लेख्य वृद्धि भएको छ । यसबाट महिलाको राजनीतिक, सामाजिक तथा आर्थिक भूमिका थप प्रभावकारी हुँदै आएको छ । महिलाको क्षमता, श्रम, सीप र सिर्जनालाई विकास प्रक्रियामा लगाई आत्मनिर्भर बनाउन, स्रोत, साधन र अवसरमा समान पहुँच स्थापित गर्न, निर्णय प्रक्रियामा सहभागिता अभिवृद्धि गर्न तथा आर्थिक सशक्तीकरणका माध्यमबाट महिलाको आर्थिक समृद्धि प्राप्त गर्न सरकारका नीति तथा कार्यक्रम अगाडि बढिरहेका छन् । यसबाट महिलाको क्षमता र पहुँचमा वृद्धि भई उनीहरू थप क्षमतावान् र प्रतिस्पर्धी हुने कुरामा म विश्वस्त छु ।

लैङ्गिक विभेदलाई अन्त्य गर्ने उद्देश्यका साथ सरकारले ल्याएको राष्ट्रिय लैङ्गिक समानता नीतिको प्रभावकारी कार्यान्वयनबाट समग्र लैङ्गिक उत्तरदायी शासन व्यवस्थाको विकास मार्फत् महिला तथा किशोरीमाथि हुने सबै किसिमका हिंसा र विभेदको अन्त्य भई लैङ्गिक समानतायुक्त न्यायपूर्ण समाज निर्माण हुने अपेक्षा गरेको छु ।

यस बीचमा नेपाली महिला दिदीबहिनीहरूको शिक्षा, स्वास्थ्य, सम्पत्ति माथिको स्वामित्व तथा श्रम सहभागितामा सकारात्मक परिवर्तन भएको छ । महिला हिंसा अन्त्य गर्ने सम्बन्धमा सरकारबाट कानुनी तथा संरचनागत व्यवस्था भएका छन् ।

यद्यपि लामो समयदेखि हाम्रो समाजमा विद्यमान पितृसत्तात्मक एवं पुरातन सोचका कारण महिलाहरू सामाजिक‚ सांस्कृतिक‚ शैक्षिक‚ राजनीतिक एवं आर्थिक रूपमा पछाडि पारिएका छन् । यस्ता सोच र प्रवृत्तिहरू समाजबाट अझै हटिनसकेका कारण संविधान र कानुनद्वारा प्रदत्त महिलाका अधिकारहरू पूर्ण रूपमा व्यवहारमा कार्यान्वयन गर्ने काममा कठिनाई बाँकी रहेको छ । तसर्थ महिलाहरूको शैक्षिक एवं आर्थिक सशक्तीकरणका साथै समग्र समाजको सांस्कृतिक रूपान्तरणका लागि समेत हामी सबैले निरन्तर प्रयास जारी राख्नु पर्दछ भन्ने मलाई लागेको छ ।

अहिले हामी विश्‍वव्यापी कोभिड–१९ महामारीको घातक दोस्रो लहरको सामना गरिरहेका छौं । अन्य विपत्तिको समयमा झैं यस महामारीको बेलामा पनि महिलाहरू बढी जोखिमपूर्ण अवस्थामा रहेका छन् । अग्रपङ्क्तिमा रही महामारीसँग लड्दा होस् वा संक्रमणको सामना गर्दा होस्, महिलाको सुरक्षाका लागि उनीहरूको विशेष भूमिकालाई सम्बद्ध पक्षले विशेष ध्यान दिनुपर्दछ ।

यस समय कोरोना सङ्क्रमण तीव्र बनेकाले त्यसलाई नियन्त्रण गर्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । तसर्थ सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डहरू र निषेधाज्ञाका नियमहरूको पालना गर्दै राष्ट्रिय महिला अधिकार दिवस मनाउनका लागि म सबैमा हार्दिक आह्वान गर्दछु ।

अन्त्यमा, यस दिवसबाट सामाजिक सोच, शैली, प्रथा र प्रचलनमा सकारात्मक परिवर्तनद्वारा नेपाली महिलाको सुरक्षा, सम्मान र हक अधिकार सुनिश्चित गरी लैङ्गिक समानतायुक्त राष्ट्र निर्माण गर्न सबैलाई प्रेरणा मिलोस् भनी शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद

२०७८ साल जेठ १६ गते, आइतबार ।