सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸ २०२१ को अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸ २०२१ को शुभकामना सन्देश

अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १)¸२०२१ को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली श्रमजीवी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।  मुलुकको उन्नति र प्रगतिका लागि निरन्तर आफ्नो कर्मक्षेत्रमा जुट्ने असंख्य श्रमिकहरूप्रति म यस अवसरमा हार्दिक सम्मान प्रकट गर्दछु ।

विश्‍वभरिका श्रमिकहरूको ऐक्यबद्धता एवं श्रमको सम्मानका लागि सबैलाई जागरुक बनाइराख्ने अवसरका रूपमा अन्तर्राष्ट्रिय श्रमिक दिवस (मे १) मनाइन्छ । यस दिवसले श्रमिक अधिकारको रक्षार्थ सम्पूर्ण श्रमजीवीहरूलाई एकताको सूत्रमा बाँध्न सहयोग पुग्ने विश्वास मैले लिएको छु ।

यस वर्ष मे १ दिवस मनाइरहँदा हामी विश्‍वव्यापी कोभिड–१९ महामारीको गम्भीर अवस्थाबाट गुज्रिरहेका छौं । यस बखत एकातिर पर्यटन तथा अतिथि सत्कार‚ निजी शिक्षण संस्थाका साथै मनोरञ्जन लगायतका अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरूले रोजगारी गुमाउनु परेको छ भने अर्कातिर स्वास्थ्य‚ सुरक्षा‚ सफाई‚ यातायात जस्ता अत्यावश्यक सेवाको क्षेत्रमा काम गर्ने श्रमिकहरू ज्यानलाई जोखिममा राखेर महामारी विरुद्धको अभियानमा अग्रमोर्चामा खटिरहनु परेको छ । महामारीविरुद्ध अग्रपंक्तिमा काम गर्ने श्रमिकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै उहाँहरूको सुरक्षा एवं प्रोत्साहनका लागि उचित व्यवस्था गर्न तथा रोजगारी गुमाउने श्रमिकहरूको जीविकोपार्जनका लागि आवश्यक प्रबन्ध गर्न म सम्बद्ध पक्षको ध्यान आकृष्ट गर्दछु ।

मुलुकको आर्थिक समृद्धिका लागि उद्यमशीलताको विकासमार्फत स्वदेशी उत्पादन वृद्धि गरी स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अत्यावश्यक हुन्छ । उद्यमशीलताको विकास गर्न पुँजी लगानी गर्ने उद्यमी र श्रम तथा सीप लगानी गर्ने श्रमिकहरू दुवैको योगदान उत्तिकै महत्त्वपूर्ण हुन्छ । यसका लागि मर्यादित श्रमको वातावरण निर्माण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्नु पर्दछ । समष्टिमा पुँजी र श्रमको सम्मिश्रणबाट आर्जित मुनाफाको न्यायोचित वितरणबाट मात्रै श्रमिकहरूको जीवनस्तर माथि उठाउन सकिन्छ भन्ने मलाई लाग्दछ ।

मुलुक मानवअधिकार र लोकतन्त्रका आधारभूत मान्यताहरूलाई संवैधानिक रूपमा नै सुनिश्चितता प्रदान गर्दै समाजवाद उन्मुख अर्थतन्त्र निर्माणको दिशामा अग्रसर बनेको परिस्थितिमा श्रमको सम्मान‚ सुरक्षित कार्यथलो‚ सामाजिक सुरक्षा‚ आफ्नो जीवनलाई प्रभावित पार्ने नीति निर्णयमा सहभागिताका साथै लैंगिक लगायत सबै प्रकारका विभेदको अन्त्य गर्दै सबैका लागि फलदायी रोजगारीको सृजना गर्न नेपाल सरकार कटिबद्ध रहँदै आएको छ । यसका प्रतिफलहरू क्रमशः प्राप्त पनि भइरहेका छन् । यी सार्थक पहलहरूबाट गरिबी उन्मूलनका साथै सामाजिक सुरक्षाको प्रत्याभूति सहित “समृद्ध नेपाल, सुखी नेपाली” को साझा राष्ट्रिय संकल्पलाई सार्थक तुल्याउन सम्भव हुनेछ भन्ने मलाई लागेको छ ।

विश्‍वव्यापी महामारीको रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९)को दोस्रो लहरका कारण हाम्रो देशमा पुन: सङ्क्रमण बढ्दै गएको हुँदा यसको फैलावटलाई तोड्न नेपाल सरकारले विभिन्न सहर एवं जिल्लाहरूमा निषेधाज्ञा जारी गरेको छ । यसबाट जनजीवनमा केही अप्ठ्यारो स्थिति सृजना भएता पनि जनताको जीवन रक्षालाई पहिलो प्राथमिकता दिँदै सरकारद्वारा जारी जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न र निषेधाज्ञाका नियमहरू कडाईका साथ अवलम्बन गर्न पनि म सबैलाई हार्दिक आह्वान गर्दछु ।

अन्तमा, अन्तर्राष्ट्रिय श्रमिक दिवसले रोजगारीको सृजना‚ श्रमको सम्मान‚ उचित पारिश्रमिक एवं सामाजिक सुरक्षा लगायतका श्रमिक अधिकारलाई सुनिश्चित गरी मर्यादित श्रमको वातावरण निर्माण गर्नेतर्फ अग्रसर हुन सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना  व्यक्त गर्दछु  ।

धन्यवाद ।

२०७८ वैशाख १८ गते शनिबार ।