सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले फागुपूर्णिमा (होली) पर्व, २०७७ का अवसरमा दिनुभएको शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०७७ को शुभकामना सन्देश

 नेपालीहरूको महान् पर्व फागुपूर्णिमा (होली) को सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, आरोग्य एवम् समृद्धिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

वसन्त ऋतुको आगमनसँगै प्रत्येक वर्ष फाल्गुन शुक्ल पूर्णिमाको दिन आपसी मेलमिलाप र सद्‍भावनाको सन्देश दिने फागुपूर्णिमा (होली) पर्व यो वर्ष हिमाली¸पहाडी तथा भित्री मधेसका जिल्लाहरूमा चैत्र १५ गते र तराईका जिल्लाहरूमा चैत्र १६ गते विभिन्न रङ र अबिर खेल्दै हर्षोल्लासपूर्वक मनाइँदैछ ।

होली पर्वले खराब प्रवृत्तिमाथि सत्यको विजय अवश्यम्भावी हुने सन्देश प्रवाह गर्दछ र लोक संस्कृतिको प्रवर्द्धन गर्दछ । विविध संस्कृतिहरूको इन्द्रेणीको रूपमा रहेको नेपाली समाजमा रङ्गहरूको पर्व फागुपूर्णिमाले समस्त नेपालीहरू बीच आपसी सद्‍भाव¸ सहिष्णुता¸ आत्मीयता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्‍याउने विश्वास मैले लिएको छु ।

विगत एक वर्षदेखि विश्‍वव्यापी रूपमा फैलिएको कोरोनाभाइरस (कोभिड-१९) महामारी अझै टरिनसकेको सन्दर्भमा पूर्व सावधानीका उपायहरूको अवलम्बन गरी फागुपूर्णिमा पर्व मनाउन सबैमा आव्हान गर्दछु ।

अन्तमा, यस पर्वले समाजमा विद्यमान विभिन्न प्रकारका विकृति¸ विसङ्गति¸ कुरीति एवं कुपरम्पराहरूलाई निर्मूल गर्दै मौलिक संस्कृति सहितको सभ्य¸ सुसंस्कृत एवं न्यायपूर्ण समाजको निर्माण र संवर्द्धन गर्न सबैलाई उत्प्रेरित गरिरहोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७७ चैत १५ गते आइतबार ।