सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले सहिद दिवस, २०७७ को अवसरमा दिनुभएको सन्देश

सहिद दिवस, २०७७ को सन्देश

सहिद दिवस, २०७७ को अवसरमा नागरिक स्वतन्त्रता, लोकतन्त्रको स्थापना र राष्ट्रियताको रक्षाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने महान् सहिदहरू शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, दशरथ चन्द र गंगालाल श्रेष्‍ठ लगायत  सम्पूर्ण अमर सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।

नेपाली जनतालाई स्वतन्त्र र सार्वभौमसत्ता सम्पन्न नागरिक बनाउन इतिहासका विभिन्न कालखण्डमा निरङ्कुश र तानाशाही शासन व्यवस्थाविरूद्ध भएका आन्दोलनहरूमा आफ्नो जीवन बलिदान गर्ने वीर वीरङ्गनाहरूप्रति सम्मान व्यक्त गर्दै हरेक वर्ष माघ १६ गतेलाई सहिद दिवसको रूपमा हामीले मनाउँदै आएका छौं ।

आफ्नो अमूल्य  जीवनलाई जनता र राष्ट्रको हितका खातिर समर्पण गर्नु नै सहादत हो । सहिद दिवसले हामीलाई सहिदहरूले गरेको यही सर्वोच्च त्यागको स्मरण गराउँदछ । हामीले आज उपभोग गरिरहेको स्वतन्त्रता र नागरिक अधिकार विगतमा सहिदहरूले गरेका बलिदानको प्रतिफल हो । सहिदको सम्मानमा गरिने अनुष्ठानले उहाँहरूको संघर्ष र त्यागको मर्मलाई नयाँ पुस्तासम्म हस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको हुन्छ ।

यसरी सहिदहरूको बलिदानद्वारा प्राप्त भएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्नेतर्फ अग्रसर हुनु नै सहिदप्रति सच्चा श्रद्धाञ्जली हुने मैले विश्‍वास लिएको छु ।

अन्तमा, देशलाई द्रूत आर्थिक विकास सहितको समृद्ध राष्ट्र बनाउने सहिदको सपना साकार पार्ने काममा मन, वचन र कर्मले समर्पित हुन सहिद दिवस, २०७७ ले सबैलाई  हौसला दिन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७७ माघ १६ गते, शुक्रबार ।