सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले माघे संक्रान्ति एवम् माघी पर्वको अवसरमा दिनुभएको शुभकामना सन्देश

माघे संक्रान्ति एवम् माघी पर्वको शुभकामना सन्देश

नेपालका विभिन्न जातजाति तथा समुदायहरूद्वारा मनाइने माघे संक्रान्ति एवम् माघी पर्वको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।

माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति‘ पनि भनिन्छ । माघे संक्रान्ति पर्वलाई नेपालका विभिन्न समुदायले आ-आफ्नो भाषा, संस्कृति र परम्पराअनुसार फरक-फरक नामका साथ भिन्दाभिन्दै शैलीमा हर्षोल्लासपूर्वक मनाउने गर्दछन् । यस पर्वमा विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा स्नान गरी मन्दिरमा पूजाअर्चना गरेपछि आ-आफ्नो समुदायको संस्कृतिअनुसार तरुल, सेलरोटी, घिउ-सख्खर, तिलको लड्डु, खिचडी, ढिक्री जस्ता परिकार खाने प्रचलन रहिआएको छ । थारु समुदायमा माघीलाई विशेष पर्व र नयाँ वर्षको रूपमा मनाइनुका साथै यस दिनलाई घरसल्लाह गर्ने, लेनदेनको नवीकरण गर्ने र आफ्नो समुदायको अगुवा चुन्ने दिनको रूपमा समेत लिइन्छ ।

यस चाडले नेपालको हिमाल, पहाड र तराईमा बसोबास गर्ने सबै जातजाति र समुदायका जनताबीच आपसी मेलमिलाप, सद्‍भाव र सहिष्णुता अभिवृद्धि गरी सामाजिक-सांस्कृतिक एकतालाई सुदृढ बनाउँदछ ।

अन्तमा, यस पर्वबाट मौलिक सांस्कृतिक परम्पराहरूको संरक्षण र संवर्द्धन गर्न तथा विविध भौगोलिक क्षेत्र, जातजाति, भाषा र संस्कृतिका नेपाली बीच आपसी एकता, मित्रता, सहयोग र सद्‌भाव अभिवृद्धि गरी बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ पार्न मद्दत पुगोस् भन्ने कामना गर्दछु ।

धन्यवाद ।

२०७७, माघ १ गते, बिहीबार  ।