सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले क्रिसमस डे को अवसरमा दिनुभएको शुभकामना सन्देश

क्रिसमस डे को शुभकामना सन्देश

इसाई धर्मावलम्बीहरूको महान् पर्व ‘क्रिसमस डे’को अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण इसाई धर्मावलम्बी नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछु ।

क्रिसमस, विश्‍वभरका इसाई धर्मावलम्बीहरूले जिसस क्राइस्टको जन्मदिनको उपलक्ष्यमा मनाउने पर्व हो । इसाई धर्मका अनुयायीहरूले हरेक वर्षको डिसेम्बर २५ तारिखको दिनलाई धार्मिक सांस्कृतिक उत्सवका रूपमा ‘क्रिसमस डे’ मनाउँदछन् ।

यस्ता धार्मिक उत्सव एवं चाडपर्वहरूले विविध सांस्कृतिक पहिचान बोकेका समुदायबीच आपसी सद्‍भाव, सहिष्णुता र ऐक्यवद्धताको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेल्दछ भन्ने मैले विश्‍वास लिएको छु । यसबाट दिगो शान्ति प्रवर्द्धनमा सहयोग पुग्ने र समुन्नत नेपाल निर्माण गर्ने दिशामा सबैलाई थप प्रेरणा मिल्ने विश्‍वास व्यक्त गर्दै पुनः क्रिसमस डे को शुभकामना दिन चाहन्छु ।

धन्यवाद ।

मिति २०७७ पुस १० गते, शुक्रबार ।