सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा दिनुभएको शुभकामना सन्देश

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको शुभकामना सन्देश

७२औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा शुभकामना व्यक्त गर्दछु ।

सन् १९४८ डिसेम्वर १० तारिखमा विश्‍वव्यापी मानवअधिकार घोषणापत्र जारी भएको दिनलाई अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको रूपमा प्रत्येक वर्ष मनाइने गरिन्छ । मानवअधिकारका विषयहरू अविभाज्य रहने तथा तिनको अन्तर्राष्ट्रिय आयाम हुने मान्यतालाई नेपाल लगायत संयुक्त राष्ट्र संघका सबै सदस्य राष्ट्रहरूले स्वीकार गरेका छन् ।

नेपालको संविधानले नागरिक तथा राजनीतिक अधिकारसहित आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारको संरक्षण तथा सम्बर्द्धन गर्दै विधिको शासन कायम गर्ने प्रावधानलाई उच्च महत्वका साथ अंगीकार गरेको छ । समावेशीकरणको नीतिद्वारा सबै वर्ग र समुदायका सिमान्तकृत नागरिकलाई राज्यको मूलधारमा समाहित गर्न पनि हाम्रो संविधानले मार्ग प्रशस्त गरेको छ । आधारभूत मानवअधिकारको प्रवर्द्धन र कार्यान्वयनका लागि संवैधानिक आयोग तथा विभिन्न निकायहरू क्रियाशील रहेका छन् । संविधानद्वारा प्रत्याभूत गरिएका मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनबाट नै न्याय र समानतामा आधारित सामाजिक,आर्थिक व्यवस्था कायम भई ‘समृद्ध नेपाल र सुखी नेपाली’को राष्ट्रिय आकांक्षा हासिल गर्न सकिन्छ भन्ने मलाई लागेको छ ।

मानवअधिकारको सम्मान, संरक्षण र सम्बर्द्धन एवम् कार्यान्वयनलाई सुनिश्‍चित गर्न समाजका सवै क्षेत्र, पेशा, व्यवसाय र वर्गको योगदान आवश्यक रहेको मैले महसुस गरेको छु ।

अन्तर्राष्ट्रिय मानवअधिकार दिवसको यस अवसरमा मुलुकको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधीनताको रक्षा गर्दै सबै जातजाति, भाषा, संस्कृति तथा सम्प्रदाय बीच पारस्परिक सद्‍भाव, सहिष्णुता र ऐ‌क्यवद्धता सुदृढ बनाउन सम्बद्ध सबै पक्ष र निकायलाई मानवअधिकारको मर्म तथा भावना आत्मसात् गर्ने प्रेरणा मिलोस् भन्ने कामना गर्दछु  ।

धन्यवाद ।

२०७७ मंसिर २५ गते, बिहीबार ।