सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले गुरूनानक जयन्तीको अवसरमा दिनुभएको शुभकामना सन्देश

गुरुनानक जयन्तीको शुभकामना सन्देश

सिख धर्मावलम्बीहरूको विशेष पर्व गुरुनानक जयन्तीको पावन अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण सिख धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सिख धर्मका प्रवर्तक गुरुनानकको जन्म वि.सं. १५२६ कार्तिक शुक्ल पूर्णिमाको दिन पाकिस्तानको पञ्जाब प्रान्तमा भएको थियो । सिख समुदायले हरेक वर्ष कार्तिक शुक्ल पूर्णिमाको दिन पवित्र स्थल गुरुद्वारामा विशेष पूजा अर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रमहरू गरी गुरुनानकको जन्मजयन्ती मनाउने गर्दछन् ।

सिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्नुहुने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त गरी समाजमा आपसी प्रेम र भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले विनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लंगर परम्परा’ को थालनी गरेका थिए । निर्गुण उपासनाका पक्षपाती रहेका गुरुनानक ईश्वर एक छन्, उनी सर्वशक्तिमान् छन् र यही नै सत्य हो भन्ने कुरामा विश्वास गर्दथे । यसरी गुरुनानकले शान्ति, सहिष्णुता, एकता र लोक कल्याणका लागि सबै धर्महरूका बीचमा सद्‍भाव कायम राख्नुपर्ने कुरामा मार्गदर्शन गरेको पाइन्छ ।

धार्मिक, सामाजिक तथा सांस्कृतिक विविधता बीच सुदृढ एकता कायम गर्दै समाजमा विद्यमान जातीय विभेदको अन्त्य गरी सामाजिक न्याय, समानता र भ्रातृत्व कायम गर्न गुरुनानक जयन्तीबाट सबैलाई प्रेरणा मिल्नेछ भन्ने विश्‍वासका साथ पुन: हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७७ मङ्सिर १५ गते, सोमबार ।