सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले छठ पर्व¸ २०७७ को अवसरमा दिनुभएको शुभकामना सन्देश

छठ पर्व¸ २०७७ को शुभकामना सन्देश

छठ पर्व, २०७७ को शुभ अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुका लागि मंगलमय शुभकामना व्यक्त गर्दछु ।

नेपालको विशेषगरी तराई तथा मधेश क्षेत्रमा मनाइने छठपर्व हाल आएर काठमाडौँ उपत्यका लगायत अन्य पहाडी तथा हिमाली जिल्लाहरूमा समेत हर्षोल्लासका साथ मनाइन्छ । कार्तिक शुक्ल चतुर्थीदेखि पञ्‍चमी, षष्ठी र सप्तमीका दिनसम्म नदी, तालतलैया वा पोखरीको किनारमा अस्ताउँदो र उदाउँदो सूर्यको किरणलाई दूधको अर्घ्य  दिएर यो चाड मनाइन्छ । यस पर्वमा सूर्य देवता र छठी माताको पूजा-अर्चना गरी छठको व्रत विधिपूर्वक सम्पन्‍न गर्नाले मनोवाञ्छित फल पाइने, समाज र परिवारको  कल्याण हुने तथा आफ्ना सम्पूर्ण कष्‍ट हटेर जाने जनविश्‍वास रहेको छ ।

सम्पूर्ण प्राणीलाई विनाभेदभाव समान रूपमा शक्ति, ताप र प्रकाश दिने सूर्यको महिमालाई आत्मसात् गर्दै यस पर्वले समाजमा विद्यमान वर्गीय, जातीय, लैङ्गिक लगायत सबै प्रकारका विभेद, कुरीति एवं विसङ्‌गतिको अन्त्य गरी समतामूलक, प्रगतिशील, सभ्य  र समुन्नत समाज निर्माण गर्नेतर्फ अग्रसर हुन हामी सबैलाई थप प्रेरणा दिने विश्‍वास लिएको छु ।

विश्वव्यापी रूपमा फैलिएको नोबल कोरोनाभाइरस (कोभिड-१९) को बढ्दो संक्रमणका कारण यसबाट जोगिन पूर्व सावधानीका उपायहरूको पालना गर्दै छठपर्व मनाउनका लागि सबैमा आह्वान गर्दछु । समय-समयमा हात धुने, दुई मिटर व्यक्तिगत दूरी कायम गर्ने तथा सही तरिकाले मास्क लगाउने कार्य नै संक्रमणबाट बच्ने उपायहरू हुन् ।

अन्तमा, छठपर्वले मौलिक संस्कृतिको संरक्षण तथा सम्वर्द्धन गर्दै सबै नेपालीमा आपसी सद्‌भाव, सहिष्णुता र बन्धुत्वको भावनालाई प्रगाढ बनाउनुका साथै राष्ट्रिय एकतालाई थप सुदृढ गर्ने विश्‍वासका साथ पुन: छठ पर्व, २०७७ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद ।

२०७७ साल, मङ्‌सिर ५ गते, शुक्रबार ।