सम्माननीय राष्ट्रपतिज्यूले कोभिड-१९ विरूद्धको खोप शुभारम्भका अवसरमा दिनुभएको सन्देश

आदरणीय दिदीबहिनी तथा दाजुभाइहरू,
कोभिड-१९को विश्‍वव्यापी महामारीले मानव सभ्यता र विकासलाई चुनौती दिइरहेको छ।यस महामारीबाट लाखौँ व्यक्तिहरूले ज्यान गुमाउनु परेको छ भने करोडौँ व्यक्तिहरू प्रभावित भएका छन्।यसको प्रभावबाट हाम्रो देश पनि अछुतो रहन सकेन।
कोभिड-१९ विरूद्धको अभियानमा अग्रपङ्‍तिमा रही सेवा प्रदान गर्नुहुने डाक्टर, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाई कर्मचारी लगायत सबैमा हार्दिक आभार व्यक्त गर्दछु।यसैगरी उहाँहरूका लागि सहज वातावरण सिर्जना गर्ने परिवारका सदस्य र समुदायप्रति सम्मान व्यक्त गर्दछु।
यो महामारीलाई नियन्त्रण गर्नका लागि भएका वैज्ञानिक प्रयासका कारण प्रभावकारी खोपको विकास भई उत्पादन समेत हुन थालेको छ।यसबाट विश्‍वभरि नयाँ आशा र विश्‍वासको सञ्‍चार भएको छ।खोपको अनुसन्धान तथा विकास गर्ने वैज्ञानिक र खोप उत्पादक देश तथा संस्थालाई नेपालको तर्फबाट धन्यवाद दिन चाहन्छु।
विश्‍वका सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्दछ भन्ने नेपालको सुस्पष्‍ट मान्यता रहेको छ।
विश्‍वमा कोभिड-१९ विरूद्धको खोप लगाउन प्रारम्भ भएको डेढ महिनाभित्रै नेपालले खोप अभियान सुरू गर्न लागेकोमा म हर्षित छु।यसबाट पहिलो चरणमा नै नागरिकलाई खोप उपलब्ध गराउने राष्‍ट्रको सूचीमा नेपाल पनि सामेल हुन सफल भएको छ। कोभिड-१९ महामारीको रोकथाम, नियन्त्रण र उपचारमा अग्रपङ्‍तिमा रहेका स्वास्थ्यकर्मी लगायत उच्च जोखिममा रहेका व्यक्तिलाई प्राथमिकताका आधारमा खोप नि:शुल्क उपलब्ध गराउने नेपाल सरकारको निर्णयको सराहना गर्दछु। नेपाल सरकारले खोप लगाउन आवश्यक सबै नागरिकलाई चरणबद्ध रूपमा खोपको व्यवस्था मिलाउने छ।
खोप अभियानलाई सफल पार्न जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सञ्‍चारकर्मी लगायत समाजका सबै क्षेत्रको सहभागिता अपरिहार्य रहेको महसुस गरेको छु।
अन्तमा, खोप लगाएपछि पनि मास्कको अनिवार्य प्रयोग गर्न, एक अर्काको बीचमा कम्तिमा २ मिटरको दूरी कायम राख्‍न र पटकपटक साबुनपानी वा सेनिटाइजरले हात सफा गरी कोभिड-१९ को रोकथाम तथा नियन्त्रणमा योगदान पुर्‍याउनका लागि सबैमा हार्दिक आह्वान गर्दछु।
धन्यवाद ।
मिति: २०७७ माघ १४ गते बुधबार ।

विद्यादेवी भण्डारी