सम्माननीय राष्ट्रपतिज्यूबाट व्यक्त सम्बोधन

सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले नेपालको राष्ट्रिय दिवस तथा संविधान दिवसका अवसरमा महामहिम राजदूत तथा कूटनीतिक नियोगप्रमुख दम्पत्तिका लागि आयोजना गर्नुभएको स्वागत समारोहमा दिनुभएको सम्वोधन

शीतलनिवास, काठमाडौँ

  • दिगो शान्ति, स्थायित्व तथा न्याय, समानता, विकास, समावेशी लोकतन्त्र र गणतन्त्रात्मक शासन व्यवस्थाको लागि नेपाली जनताको निरन्तर संघर्ष एवं जनआन्दोलनको परिणामस्वरूप वि.सं २०७२ सालमा आजकै ऐतिहासिक दिनमा नेपालको संविधान जारी भएको हो ।
  • राष्ट्रिय दिवस तथा संविधान दिवसको यस पुःनीत अवसरमा सबैमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
  • सदा सार्वभौम र स्वतन्त्र मुलुकका नेपाली जनताले यस दिनलाई राष्ट्रिय पर्वका रूपमा मनाईरहँदा हामी गौरवान्वित भएको महशुस गर्दछौँ ।
  • लोकतन्त्र स्थापित गर्ने अनवरत संघर्षमा नेपाल आमाका हजारौँ छोरा छोरीले शहादत प्राप्त गरे ।
  • यस अवसरमा म ती सम्पूर्ण  ज्ञात अज्ञात शहिदहरूप्रति गहिरो सम्मान प्रकट गर्दै हार्दिक श्रद्धासुमन व्यक्त गर्न चाहन्छु । 
  • विश्व शान्तिका अग्रदूत बुद्धको जन्मस्थल पवित्र धर्ती नेपालले संयुक्त राष्ट्र संघको बडापत्रप्रति पूर्ण सम्मान गर्दै आएको छ ।
  • हामी विश्वका सबै राष्ट्रसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न र सम्बन्धलाई सुदृढ एवं विस्तार  निरन्तर लागिपरेका छौँ ।
  • नेपाल असंलग्न आन्दोलनको एउटा संस्थापक मुलुकका साथै सार्क, विमस्टेकजस्ता क्षेत्रीय सहयोग संगठनको सदस्य राष्ट्र हो ।
  • नेपालको संविधान व्यापक जनसहभागितासहित निर्वाचित संविधानसभाद्वारा जारी गरिएको पहिलो ऐतिहासिक संविधान हो ।
  • वर्तमान संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गरेको छ ।
  • संविधानले मौलिक मानवअधिकार, विधिको शासन, समावेशी लोकतन्त्र, वालिग मताधिकार, स्वतन्त्र न्यायपालिका, स्वतन्त्र प्रेस, शक्ति पृथकीकरण, सन्तुलन र नियन्त्रण, समानता र सामाजिक न्यायजस्ता लोकतन्त्र र प्रगतिशील समाजका मूलभूत आधारहरूलाई आत्मसात गरेको छ ।
  • महिला सशक्तीकरणको क्षेत्रमा नेपालले ठूलो प्रगति गरेको छ ।
  • यसबाट नीति निर्माण र निर्णायक तहमा महिलाको महत्वपूर्ण सहभागिता हुन पुगेको छ ।
  • संविधानले स्थानीय, प्रदेश र संघीय तीनै तहमा स्थापित सरकारहरूबीच शाक्तिको बाँडफाँट समेत स्पष्ट गरेको छ ।
  • संविधानले निर्दिष्ट गरेको समानता र न्यायमा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माण गर्ने दिशामा सरकार कटिबद्ध रहेको छ ।
  • स्वावलम्बी र आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्दै मुलुकको सामाजिक आर्थिक विकासलाई संबोधन गर्न सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षालाई कार्यान्वयन गरिरहेको छ ।
  • हाम्रा राष्ट्रिय स्रोत र मित्र राष्ट्र एवं अन्तर्राष्ट्रिय संघ संस्थाहरूको साझेदारी र सद्भावले हाम्रो विकासको यात्रालाई तिव्रता दिन सकिन्छ भन्ने हाम्रो विश्वास छ ।
  • नेपाल एक बहुसाँस्कृतिक सम्पदाले सम्पन्न मुलुक हो ।
  • विविधतामा एकता हाम्रो मौलिक शक्ति हो ।
  • सामाजिक सद्भाव र सहिष्णुता नेपाली जीवन पद्दतिका महत्वपूर्ण  विशेषता हुन् ।
  • अन्तमा, म राष्ट्रिय दिवसको यस सुखद अवसरमा मुलुक भित्र तथा विश्वमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी दाजुभाइहरूलाई पुनः शुभकामना दिँदै सुस्वास्थ्य र समृद्धिको कामना गर्दछु ।
  • नेपाल र नेपाली प्रति सद्भाव राख्ने एवं दिगो विकास प्रयासमा  साझेदार बन्दै आएका  सबै  मित्रराष्ट्रहरू तथा अन्तर्राष्ट्रिय संघ संस्थाहरूलाई समेत धन्यवाद दिन चाहन्छु ।
  • साथै, आजको विविध साँस्कृतिक प्रस्तुतिका निम्ति नेपाल साँस्कृतिक संस्थानलगायत सम्पूर्ण कलाकारहरुलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।

धन्यवाद ।

२०७६ साल असोज ३ गते शुक्रबार ।