सम्माननीय राष्ट्रपतिज्यूबाट फागुपूर्णिमा (होली) पर्व, २०७५ का अवसरमा ब्यक्त शुभकामना सन्देश

फागुपूर्णिमा (होली) पर्व, २०७५ को शुभकामना सन्देश

नेपालीहरुको महान पर्व फागुपूर्णिमा (होली) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ति एवम् समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

सांस्कृतिक विविधताले भरिपूर्ण हाम्रो मुलुकमा खुसी र हर्षोल्लासपूर्वक रंगहरुमा रमाएर होली पर्व मनाउने प्रचलन रहेको छ । यस वर्ष चैत्र ६ र ७ गते गरी नेपालभर मनार्इने यस पर्वले सबै नेपालीहरुबीच सामाजिक सद्‌भाव, सहिष्णुता एवम् राष्ट्रिय एकता अक्षुण्ण राख्‍न सघाउ पुगोस् भन्ने कामना गर्दछु । हाम्रा यस्ता पर्वहरुले नेपालको मौलिक पहिचान स्थापित गराउदै सांस्कृतिक पर्यटनमार्फत मुलुकको आर्थिक संमृद्धि हासिल गर्न टेवा पुग्दछ भन्ने मेरो विश्वास छ । यस्ता अमूल्य संस्कृतिहरुको संरक्षण र प्रवर्द्धनमा सकारात्मक भूमिका निर्वाह गर्न सबैमा आग्रह गर्दछु ।

अन्तमा, यस पर्वले हामी सबैमा नयाँ उमगं र हौसलाका साथ मुलुकको प्रगतिमा अग्रसर हुने प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।

धन्यवाद !

२०७५ चैत्र ६ गते बुधबार ।