सम्माननीय राष्ट्रपतिज्यूबाट “ग्याल्बो ल्होसार, २०७५” को अवसरमा व्यक्त शुभकामना सन्देश

 

 “ग्याल्बो ल्होसार, २०७५ को शुभकामना सन्देश

फागुन शुक्लपक्ष प्रतिपदा तिथिका दिन शेर्पा लगायत महायानी बौद्ध धर्मावलम्बीहरूले मनाउने ग्याल्बो ल्होसार पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने महायानी बौद्ध धर्माबलम्बी दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति, समृद्धि एवं उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस पर्वमा घर सरसफार्इ गर्ने, नयाँ कपडा लगाउने, नौ प्रकारका अन्न मिसाएको खाना गुथुकको मिठो परिकार खाने तथा पूजा गरी सगुन वितरणका साथ शुभकामना आदान-प्रदान गरी मनाउने चलन छ ।

विविधताले भरिएको नेपाली समाजका यस्ता चाडपर्वहरू हाम्रा साझा सम्पति हुन् । यसले नेपाली-नेपाली बीच बन्धुत्व र पारस्परिक सम्बन्ध बढाउन’का साथै एक-अर्काको संस्कृतिको सम्मान गर्दै आपसी एकता, सद्‍भाव र सहिष्णुतालार्इ अक्षुण राख्न सघाउ पुग्छ भन्ने मेरो मान्यता छ ।

अन्तमा, ग्याल्बो ल्होसार पर्वले सबै नेपालीहरूमा नयाँ उमंग सहित हर्षोल्लास, शान्ति र भातृत्वको सन्देश फैलाउन सकोस् भन्ने शुभकामना व्यक्त गर्दछु।

धन्यवाद ।

 वि.स. २०७५ फागुन २३, बिहीवार