सम्माननीय राष्ट्रपतिज्यूले महिला बिरुद्ध हुने हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवस २०७३ का अवसरमा दिनुभएको शुभकामना सन्देश

प्रत्येक वर्षको नोभेम्बर २५ लाई संयुक्त राष्ट्र संघको महासभाले महिला बिरुद्ध हुने हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवसका रुपमा मनाउने निर्णय  गरेको छ । नेपालमा पनि घर शान्ति नै  विश्व शान्तिको आधारः दीगो विकासका लागि लैंगिक हिंसा रहित समाजभन्ने राष्ट्रिय नाराका साथ विविध कार्यक्रमको आयोजना गरी उक्त दिवस मनाउन लागिएकोमा मलाई अत्यन्तै खुशी लागेको छ । यस अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूको सुख, समृद्धि र सुस्वास्थ्यका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जनसंख्याको आधाभन्दा बढि हिस्सा ओगटेका महिलाहरू परिवार, समाज र राज्यमा बराबर हिस्सा राख्ने सम्मान र प्रतिष्ठाका हकदार हुन् । बोक्सीको आरोप, दाइजोको लेनदेन, छाउपडी जस्ता कुप्रथा र प्रचलन कानूनले निषेध गरिसक्दासमेत अन्धविश्वास र चेतनाको कमीले गर्दा अहिले पनि हाम्रो समाजमा महिलाहरु हिंसा, विभेद, अपमान र पीडा खप्न बाध्य छन् । त्यसैले एकातर्फ समाजमा व्याप्त अन्धविश्वास, रुढी र कुसंस्कारलाई अन्त्य गर्न चेतना र जागरण फैलाउनु पर्छ भने अर्कातर्फ महिला बिरुद्ध हिंसा गर्नेलाई कानूनी कारबाही गर्न राज्य संयन्त्र अत्यन्त प्रभावकारी हुनुपर्दछ । यस प्रकारका सामाजिक जागरण फैलाउन र दोषीलाई कानूनी कारबाहीको दायरामा ल्याउन सके महिला बिरुद्ध हुने सबै प्रकारका हिंसा र उत्पीडनलाई समाप्त पार्न मद्दत पुग्न सक्दछ ।

हाम्रो देश सामाजिक, आर्थिक समृद्धिको दिशामा अघि वढीरहेको सन्दर्भमा संविधानमा समाविष्ट सबै क्षेत्र र समुदायका जनताका हक अधिकारहरू कार्यान्वयन गर्दै अघि बढ्नु परेको छ । संविधानले महिलाका हक अधिकारलाई सुदृढ गर्ने प्रयास गरेको छ र यसबाट नेपाली महिलाहरूमा हौसला बढाएको छ । सिंगो मुलुकको विकासका निम्ति आधा आकाशको प्रतिनिधित्व गर्ने महिलाको सर्वतोमुखी विकास हुनु अपरिहार्य
छ । यसका लागि महिलाहरू घर
, समाज, देश र विश्वव्यापिरूपमा नै सुरक्षित हुनु आवश्यक छ ।

अन्तमा, सामाजिक रूपमा समेत महिला हिंसालाई निषेध र निरूत्साहित गरी महिला बिरुद्ध हुने हिंसा विरूद्धको अन्तर्राष्ट्रिय दिवसले मर्यादित समाज निर्माण गर्न सबैमा उत्प्रेरणा प्रदान गरोस् भन्ने कामना गर्दछु ।

धन्यवाद !

मिति २०७३ मंसिर १० गते शुक्रबार ।