सम्माननीय राष्ट्रपतिज्यूले प्रतिनिधि सभा तथा प्रदेश सभा दोस्रो चरणको निर्वाचनका अवसरमा आममतदाताको नाममा जारी गर्नुभएको सन्देश

नेपाली जनताको लामो, कठोर र अनवरत संघर्षको फलस्वरुपः जननिर्वाचित संविधानसभाद्वारा निर्मित नेपालको संविधान जारी भएपश्‍चात् मुलुकका ४५ जिल्लामा २०७४ साल मंसिर २१ गते हुन लागेको दोस्रो चरणको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनका अवसरमा समस्त नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई निर्वाचनमा निर्बिघ्न र शान्तिपूर्ण ढंगले सहभागी भइ आफ्नो अमूल्य मताधिकारको प्रयोग गर्न म सहर्ष आह्वान गर्दछु ।

नेपालको संविधानले नेपाली जनताको लोकतान्त्रिक हक र अधिकारको पूर्ण प्रत्याभूति गर्नुका साथै २०७४ माघ ७ गते भित्र संघीय संरचना अन्तरगतका सबै तहका निर्वाचन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेको छ । यसै सिलसिलामा विगतमा स्थानीय तहको र २०७४ मंसिर १० गते प्रतिनिधि सभा र प्रदेश सभाको प्रथम चरणको निर्वाचन जनताको उत्साहपूर्ण सहभागितामा शान्तिपूर्ण रुपमा सम्पन्न भईसकेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्वपूर्ण र ऐतिहासिक रहेको तथा उक्त निर्वाचन पछि मुलुकले राजनीतिक स्थायित्व प्राप्त गरी संवैधानिक प्रावधान बमोजिम सामाजिक न्याय र समानतामा आधारित समाजवादउन्मुख अर्थतन्त्र निर्माणको दिशामा अघि वढ्नेछ भन्ने मलाई विश्‍वास लागेको छ ।

यस निर्वाचनमा सहभागी हुनु केबल संविधानले दिएको जनप्रतिनिधि छान्ने हक र जनतामा निहित सार्वभौम अधिकारको प्रयोग मात्र नभइ आर्थिक सामाजिक रुपले समृद्ध नेपाल निर्माणको दिशामा ठोस योगदान गर्नुसमेत हो  । यस परिप्रेक्ष्यमा नेपालको संघीय संरचना अनुसार हुने पहिलो प्रतिनिधि सभा तथा प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा उत्साह, उमङ्ग तथा उल्लासमय रुपमा सहभागी भई लोकतान्त्रिक प्रक्रियालाई सफल र सुदृढ वनाउन म अनुरोध गर्दछु ।

धन्यवाद !

२०७४ साल मंसिर २१ गते बिहीबार ।